काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा आज उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे नेता देउवाले सभापति पदमा उम्मेदवारी घोषणा गर्न लाग्नु भएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । ‘१३औँ महाधिवेशनका लागि वरिष्ठ नेता शेरबहादुर देउवाले आज सभापति पदमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ’, सिग्देलले भन्नुभयो, ‘केही पदाधिकारीको पनि घोषण हुन सक्छ ।’
स्रोतका अनुसार नेता देउवाले कोषाध्यक्षमा चित्रलेखा यादव वा पुष्पा भुसालमध्ये एक जनालाई उम्मेदवार बनाउनु हुनेछ ।
कांग्रेस नेता खुमबहादुर खड्काले कोषाध्यक्षमा भुसाललाई अगाडि सारेका छन् । यद्यपि पदाधिकारीमा मधेसी समुदायबाट पनि ल्याउनु पर्ने भएकाले यादवको नाम पनि बलियो रुपमा अगाडि देखिएको छ ।
स्रोतका अनुसार नेता खड्कालाई पछि उपसभापतिमा मनोनयन गर्ने सहमति भएको छ । मनोनीत महामन्त्रीमा विमलेन्द्र निधीलाई तथा पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की तथा बालकृष्ण खाँडमध्येबाट एक जनालाई सह–महामन्त्रीमा पछि व्यवस्थापन गर्ने बुझिएको छ ।
यसअघि देउवा समूहबाट महामन्त्रीमा अर्जुन नरसिंह केसीले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
संस्थापनबाट तीन समूहले सभापतिसहितका पदमा उम्मेदवारी घोषणा गरिसकेको छ । कार्यबाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाले सभापति पदमा उम्मेदवारी बुधबार घोषणा गरेका हुन् ।












प्रतिक्रिया