२४ कार्तिक २०८३, मंगलबार

नेता नेपाल भन्छन्- यस्तो गर उस्तो गर भन्ने भारत को हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepal– हेमन्त पौडेल
धनगढी, १८ फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले भारतसंग चिसिएको सम्बन्ध विस्तारै सुधार हुँदै जान लागेको बताउनुभएको छ ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण दुई देशबीचको सम्बन्धमा आएको चिसो प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि सम्बन्धमा सुधार आएको उहाँले बताउनुभयो ।

नेता नेपालले भारतले नेपाल राष्ट्रसंग सम्बन्ध राख्ने हो तर कुनै समुदायसंग सम्बन्ध राखेर राष्ट्रसंग सम्बन्ध विगार्न नहुने धारणा ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो- ‘यो समुदायलाई यस्तो गर उस्तो गर भन्दा पनि के कुरामा चित्त नबुझेको हो त्यो कुरा राष्ट्र लेबलमा हुन जरुरी छ ।’ नेपालको आन्तरिक मामिलामा कुनै पनि मित्र राष्ट्रले चासो राख्नु त्यति सान्दर्भिक नहुनेमा नेता नेपालको जोड छ ।

नेपालको राजनीतिलाई सहमतिबाटै अघि बढाउनुपर्ने भएकाले वर्तमान सरकारमा नेपाली काँग्रेससहितका दलहरु सहभागी भएर देशलाई आर्थिक विकासमा लैजानुपर्ने उहाँले बताउनुभयो । नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको छ उहाँले भन्नुभयो । संविधान कार्यान्वयन गर्नुपर्ने बेला भएकाले तीन ठूला दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।

नेकपा एमालेको राष्ट्रय जागरण कार्यक्रममा दार्चुला पुगेर राजधानी फर्किने क्रममा नेता नेपालले मंगलवार प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अहिलेको संविधान उत्कृष्ट भएको र त्यसको बारेमा जनतालाई बुझाउन दलहरु जिल्ला जिल्लामा गएको प्रसंग समेत उल्लेख गर्नुभयो । केही पार्टीका नेताहरुले गरेको विरोधलाई सिंगो जनताले विरोध गरेका छन भन्न प्रचार गरेर जनतामा भ्रम छर्ने काम गरेको नेता नेपालको आरोप छ । कुनै जाती र समुदायको ब्यक्तिले गरेको विरोधलाई पूरै जाती र समुदायका मानिसहरुले विरोध गरेका छन भनेर कुप्रचार भइरहेको छ त्यसमा विश्वास नगर्न सवैलाई आग्रह गर्नुभयो ।

नेता नेपालले एक अर्को प्रसंगमा बैशाख सम्ममा स्थानीय निकायको अन्तरिम चुनाव गर्नुपर्नेमा जोड दिनुभयो । संघीयतामा देश गइसकेकाले त्यसको प्रक्रियामा जान केही समय लाग्ने भएकाले अन्तरिम ब्यवस्था गरेर स्थानीय निकायको चुनाव गर्नुपर्छ उहाँले भन्नुभयो । जनप्रतिनिधि नहुँदा विकास निर्माणको काम पछि परेको, जनताले सेवा पाउने कुरामा पनि समस्या भएको र स्थानीय निकायमा भ्रष्टाचार बढेकाले तत्काल चुनाव गराउनेतर्फ सरकार लाग्नुपर्छ उहाँको जोड छ ।

सुदूरपश्चिमको विकासको सम्भावना राम्रो भएकाले सवै मिलेर अघि बढ्नुपर्ने देखिएको उहाँको सुझाव छ । सुदूरपश्चिममा पर्यटन, जलविद्युत र उद्योग धन्दाको विकास गर्न सकिने भएकाले त्यसतर्फ लाग्नु सुदूरपश्चिमवासीलाई नेता नेपालले आग्रह गर्नुभयो ।

नेता नेपालसंगै एमाले स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे हुनुहुन्छ । दोस्रो पटक दार्चुला पुग्नुभएका पूर्व अर्थमन्त्री पाण्डेले सुदूरपश्चिमको आर्थिक विकासका लागि के हुनसक्छ भन्ने बारेमा अध्ययन गरेको बताउनुभयो । सुदूरपश्चिमको विकासका लागि महाकाली नदीमा पक्की पुल निर्माण गरि दिल्लीसंगको आवतजावतलाई सहज बनाउन आवश्यक रहेको चर्चा गर्नुभयो ।