
नेपालगञ्ज । प्रेस चौतारी बाँके शाखाले पत्रकार कल्याणकारी कोष निर्माण गर्ने उदेश्यसहित मंगलबार नेपालगन्जमा गत बैशाखमा गएको भूकम्पका सम्बन्धमा बनेको चर्चित बृतचित्र ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शनी गर्दैछ ।
प्रदर्शनीको तयारी पुरा भएको चौतारी बाँकेले जानकारी दिएको छ ।
बृतचित्र प्रदर्शनीबाट आएको रकमबाट ४० हजार राशीको कल्याणकारी कोष बनाउने रहेको प्रेस चौतारी बाँकेका सचिब कमल डाँगीले जानकारी दिएका छन् ।
यो बृतचित्रले भारतको राजधानी नयाँदिल्लीमा गत मंगलबार सम्पन्न तेस्रो नोइडा अन्र्तराष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री–जुरी अवार्ड जितेको थियो ।
गत महिना काठमाडौमा सम्पन्न काठमाडौं पर्वतारोहण अन्र्तराष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा ‘भाग्यले बाचेकाहरु’ले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जितेको थियो । भारतमा समेत अवार्ड जित्दा आफू निकै उत्साहित भएको वृत्तचित्रका निर्देशक गणेश पाण्डेले बताए ।
‘भाग्यले बाचेकाहरु’को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अंग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोशाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका छन् । यसैगरी, लेखन तथा भ्वाइसओभर पनि जोशाय हुपरकै रहेको छ ।
नेपाली संस्करणको लेखन तथा भ्वायसओभर भने सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले गरेका थिए ।
शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायाँकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट भुमिजको पोस्टप्रडक्सनमा बनेको डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका ९ जना नेपालीको कथालाई पर्दामा उतारिएको छ ।















प्रतिक्रिया