काठमाडौं, १७ फागुन । काठमाडौं उपत्यकाभित्र रहेका धेरैजसो ट्राफिक बत्तीले काम नगर्दा ट्राफिक व्यवस्थापनमा समस्या परेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका अधिकांश सडकको चोकमा रहेको ट्राफिक बत्ती सञ्चालनमा नरहेको जनाएको छ ।
उपत्यकामा रहेका २० स्थानमध्ये १३ स्थानको बत्ती सञ्चालनमा नरहेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । केशरमहल, दरबारमार्ग, पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, माइतीघर, थापाथली, कालीमाटी, गौशाला, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर र कौशलटार चोकको बत्ती सञ्चालनमा छैनन् ।
२०६८ सालमा निर्माण भएको कोटेश्वर-काभ्रेपलाञ्चोक सडकमा रहेको मुनीभैरब, जडीबुटी, गट्ठाघर, ठिमी, चारदोबाटो, सल्लाघारी, सूयबिनायक चोकको बत्ती भने प्रयोगमा रहेका छन् ।
यसैगरी पैदल यात्रुका लागि जडान गरिएका बत्ती पनि सञ्चालनमा छैनन् । पुरानो बसपार्क, त्रिचन्द्र क्याम्पस, चाइना टाउन सुन्धारा, भोटेबहाल, कालीमाटी, नयाँसडक प्यूखा, शंकरदेव, सिंहदरबारचोक र अल्का अस्पताल क्षेत्रको बत्ती पनि सञ्चालनमा छैनन् ।
महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले उपत्यकामा रहेका अधिकांश स्थानको बत्ती नहुँदा ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘एकातिर सवारी साधन धेरै अर्कातिर ट्राफिक बत्तीले काम नगर्दा व्यवस्थापनमा गाह्रो भएको छ ।’
विश्वमा ट्राफिक बत्ती जडान भएको ४७ वर्षपछि नेपालमा ट्राफिक बत्तीको सुरुवात भए पनि यसले प्रभावकारी ढंगले काम गर्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या परेको हो ।
महाशाखाले ट्राफिक व्यवस्थापनका लागि तत्काल सुधार र उपत्यकामा ट्राफिक बत्तीको अवस्था अध्ययन गर्न गत मंसिर २ गते प्रहरी उपरीक्षक पोषराज पोखरेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । रासस












प्रतिक्रिया