१ कार्तिक २०८३, शनिबार

सिरियामा युद्धविराम सुरु, विश्वव्यापी चासो बढेको राष्ट्रसंघको भनाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

syria_fighter-1000x0

दमासकस (सिरिया), १५ फागुन । गएको पाँच वर्षदेखि हिंसा जारी रहेको मध्यपूर्वी राष्ट्र सिरियामा शुक्रबारको मध्यरातिदेखि युद्धविराम सुरु भएको समाचार छ ।

शनिबार बिहानै गरिएका अनुगमनहरुमा सरकार तथा विद्रोही तर्फबाट नै देशमा शान्तिको पहलस्वरुप कुनै हिंसात्मक कार्य नगरेको पाइएको बताइएको छ ।

यस युद्धविरामलाई विश्वव्यापी रुपमा हेरिएको र विश्वमा नै सिरियाको विषयलाई लिएर व्यापक मात्रामा चासो बढेको पाइएको समाचारमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिका र रसियाको विशेष पहलमा सुरु भएको यस युद्धविरामको संसारमा नै चासो र चर्चा पनि सुरु भएको बताइएको छ । शुक्रबारै मध्यरातिदेखि सुरु हुने भनिएको सो युद्धविरामको पालनाका लागि सिरियालाई पनि दबाब बढिरहेको छ ।

एएफपीका समाचारदाताले शनिबार बिहान सिरियाली राजधानी दमासकसबाट दिएको समाचारमा युद्धविरामको सुरुवात भएको मध्यरातिदेखि बिहानसम्म कुनै हिंसाका घटना भएका छैनन् र सरकारी एवम् विद्रोही पक्षबाट नै यसका लागि संयमता अपनाएको देखिएको छ ।

यस युद्धविरामलाई इमान्दारिताका साथ पालना गर्न संयुक्त राष्ट्रसंघले पनि विश्वव्यापकी रुपमा आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि युद्धविरामका लागि इमान्दार रहन आग्रह गर्दै यसको कार्यान्वयन भए नभएको संसारका मानिसले निगरानी गरिरहेको जानकारी गराउनुभएको छ ।

सिरियाली राष्ट्रपति बसर अल असदले अमेरिका र रसियाद्वारा प्रस्तावित यस युद्धविरामका लागि आफू सहमत रहेको प्रतिबद्धता बुधबारै व्यक्त गर्नुभएको जनाइएको छ ।

उहाँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोन गरी रसिया र अमेरिकाका तर्फबाट आगामी शनिबारदेखि युद्धविराम गर्न गरिएको आदेशको पालना गर्ने जानकारी दिनुभएको क्रेमलिनले जनाएको छ ।

सिरियामा विद्रोह गरिरहेका विपक्षीहरुले पनि यस विषयमा सहमति जनाएका छन् । उनीहरुले सरकारी सेनाले गर्ने गरेका हवाई हमला रोक्नुपर्ने, देशभरि नै आवश्यक परेको मानवीय सहायतासम्बन्धी नागरिकलाई सहयोग पु¥याउन दिनुपर्ने जस्ता शर्त राखेका छन् ।

सुरक्षा परिषदको प्रस्ताव

यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि युद्धविराम पहिलो प्रयास हो भन्दै यसको पालना गर्न आग्रह गरेको छ ।

उक्त परिषदको शुक्रबार बसेको बैठकले सिरियामा युद्धविराम लागू र कायम गर्न एक नयाँ प्रस्ताव पारित गरेको हो । सो प्रस्ताव सुरक्ष परिषदका सबै सदस्यले सर्वसम्मत रुपमा पारित गरेका हुन् ।

सुरक्षा परिषदले यस युद्धविरामको अनुगमन संयुक्त राष्ट्रसंघले गर्ने र त्यसका लागि विश्व समुदाय एवम् सिरियाको बारेमा असल चिताउने सबै पक्ष र समुदायको सहयोगको अपेक्षा पनि गरेको छ ।

महासचिव बानको स्वागत

यसैबीच सुरक्षा परिषदको उक्त प्रस्तावको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले स्वागत गर्नुभएको छ । उक्त परिषदले सर्वसम्मत रुपमा यस युद्धविरामको बारेमा प्रस्ताव पारित गरेर संसारका शान्तिप्रेमी जनताका लागि प्रेरित गरेको धारणा राख्नुभयो ।

साथै उहाँले सिरियाली सरकार र त्यहाँका विपक्षीहरुलाई पनि युद्धविरामको पालना गरी आगामी दिनमा दिगो शान्तिका लागि अघि सारिएको यस पहललाई साकार पार्ने काममा सघाउन आग्रह गर्नुभएको छ ।

यसैगरी उहाँले यो अवस्थासम्म ल्याइपु¥याउनका लागि मेहनेत गर्ने अमेरिका र रसियालाई पनि विशेष धन्यवाद दिनुभएको छ ।

सिरियामा गएको करिब पाँचवर्षदेखि हिंसा जारी रहेको छ । त्यहाँको गृहयुद्धमा परी दुई लाख ७० हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको मानवअधिकारीवादी समूहले मङ्गलबार जनाएको छ । रासस÷एएफपी