नयाँदिल्ली, १३ फागुन । भारतले ११ जना पाकिस्तानी आतंककारीको नाम संयुक्त राष्ट्र संघलाई दिएको छ ।
भारतमा आतंककारी क्रियाकलापमा संलग्न रहेको भन्ने आरोपमा उसले ती नाम संयुक्त राष्ट्र संघलाई बुझाएको हो ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले आतंककारी क्रियाकलापमा संलग्नहरुको नाम राष्ट्र संघलाई दिइएको जानकारी दिनुभयो ।
भारतीय संसद्को अधिवेशनलाई सम्बोधन गर्दै विदेशमन्त्री स्वराजले ती व्यक्तिको नाम राष्ट्र संघसमक्ष दिएको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संसद्लाई सम्बोधन गर्दै विदेशमन्त्री स्वराजले विभिन्न ४० देशसँग भारतको सुपुर्दगी सन्धी भएको र अरु करिब १० वटा देशसँग यससम्बन्धी सम्झौता भएर कार्यान्वयनमा रहेको जानकारी पनि दिनुभयो ।
भारत सरकारका तर्फबाट राष्ट्रसंघलाई दिइएका ती नामहरु को–को हुन् भन्ने बारेमा भने उहाँले कुनै जानकारी नदिनुभएको बताइएको छ ।
यस विषयमा पाकिस्तानी पक्षको कुनै प्रतिक्रिया आएको छैन । रासस/एपी















प्रतिक्रिया