३० आश्विन २०८३, शुक्रबार

‘ढुसी’मा यसरी फल्न थाल्यो डोटीमा पैसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– झलक पाली

डोटी, १२ फागुन । डोटी जिल्लाका किसानहरू च्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालयको सक्रियतामा विभिन्न किसानहरू च्याउ उत्पादनतर्फ आकर्षित भएका हुन् ।

आर्थिक वर्ष २०७२/०७३ को स्वीकृत वार्षिक कार्यक्रम युवा लक्ष्यित च्याउ उत्पादन कार्यक्रम अनुसार मंगलबार मात्रै जिल्ला कृषिले ६३ जना किसानहरूलाई एक दिने च्याउ उत्पादन तालिम सम्पन्न गरेको छ ।

जिल्लाका विभिन्न गाविसबाट सहभागी किसानहरूलाई प्रयोगात्मक रुपमा च्याउ उत्पादन तालिम दिइएपछि किसानहरू च्याउ खेतीमा थप उत्साहित भएका छन् ।

विषेश गरी सिर्जनात्मक श्रमयुक्त युवाहरू विदेश पलायन नहुन, स्वरोजगार बनुन र शिक्षित युवाहरू समेत बेरोजगार नहोउन् र व्यावसायिक च्याउ खेतीमा संलग्न गराई आयआर्जन बढाउने उद्देश्यले जिल्ला कृषिले च्याउखेतीलाई बढावा दिन थालेको कार्यालयका प्राविधिक सहायक प्रेमराज गिरीले बताए ।

तालिम दिइएका किसानहरूले चार वटा डेमो हाउसमा कन्य च्याउ उत्पादन गर्नुपर्ने र च्याउ उत्पादन गरिसकेपछि कार्यालयमा च्याउको नमूना पेश गरिपछि प्रति डेमो १० हजारका दरले सबै किसानहरूलाई जिल्ला कृषिले नगद भुक्तानी गर्ने पनि गिरीले बताए ।

आफू बेरोजगार रहेकाले समयको सदुपयोग गर्न, पढेलेखेका र परम्परागत कृषि अवलम्बन गर्दै आएका किसानहरूलाई प्रेरणा दिन र आयआर्जन बढाउन पनि आफु च्याउ खेतीमा आकर्षित भएको केदारअखडा–४ का भावना बमले बताईन् ।

त्यस्तै बाबु–बाजेले अँगाल्दै आएको परम्परागत कृषि प्रणाली व्यावसायिक र आधुनिकिकरण हुन नसकेपछि गाउँतहमा सबैलाई प्रेरणा दिन र आम्दानी बढाउन आफु च्याउखेतीमा लाग्न थालेको गिरीचौका–८, सबखोलाका भरत बोहरा (योगेन्द्र) ले बताए ।

कुनै पनि कृषि समूह तथा फर्म नभए पनि तालिम लिएर व्यावसायिक च्याउ खेती गर्न लागेको एकिकृत नेकपा माओवादी डोटीका सचिवालय सदस्य समेत रहेका बोहराले बताए । आफु सामाजिक व्यक्ति भएकाले किसानहरूलाई हेलाको देष्टिले हेर्न प्रवृत्ति चिर्नका लागि सन्देश प्रवाह गर्न पनि च्याउखेती गर्न लागेको उनले बताए ।

त्यस्तै जिल्ला कृषिको सहयोगबाट च्याउँ उत्पादन गर्दै आएका कलेना १ प्याँटीका संगम साउँदले दैनिक सरदर ५ के.जी. च्याउ बजारमा विक्रि गरिरहेका छन् ।

स्थानीय गैर सरकारी सँस्था सम विकास केन्द्र नेपालको सहयोगमा यस अगाडी पनि च्याउ उत्पादन गरिसकेको र अब व्यावसायिक रुपले च्याउ खेती गर्ने गगुडा–८, कटैगाउँका रुपादेवी सोवले बताईन् । ‘गरेपछि सम्भव छ’ भन्ने भनाई अनुसार मेहनत गरे च्याउ उत्पादन राम्रैसँग गर्न सकिने अनुभव आफुसँग रहेको सोवले बताईन् । व्यावसायिक रुपले च्याउखेती गर्न सके आर्थिक आम्दानी बढ्ने र च्याउ स्वास्थ्यका लागि पनि निकै लाभदायक भएको सोवले बताइन् ।

गाउँमा उत्पादित च्याउको बजारका विषयमा किसानहरूले चिन्ता गरिरहेका भए पनि गगुडा–५ मा रहेको जनता कृषि सहकारी सँस्थाले सञ्चालन गरेको संकलन केन्द्रले त्यस क्षेत्रमा उत्पादित च्याउ खरिद गरि दिपायलसम्म बजार जोड्ने सो सँस्थाका व्यवस्थापक योगेन्द्र वि.क.ले बताए ।

त्यस्तै आफु सानैदेखि कृषिप्रति रुचि राख्ने गरेको र यसभन्दा पहिले पनि सानो मात्रामा च्याउ उत्पादन गरिसकेकाले उत्पादन राम्रै भएपछि फेरि च्याउ उत्पादनलाई निरन्तरता दिन गईरहेको बन्लेक–२, बानेडुङ्ग्रीसैनका नरेन्द्र विष्टले बताए । अखिल छैटौं डोटीको दुई कार्यकाल अध्यक्ष भईसकेका र स्नातक तह उत्तिर्ण भइसकेका बिष्टले अन्य व्यवसायभन्दा कृषि व्यवसाय नै राम्रो भएको धारणा राखे ।

जिल्लामा विभिन्न निकायको सहयोग र व्यक्तिगत लगानीमा विभिन्न कृषकहरूले सानातिनो मात्रामा च्याउँ उत्पादन गरिरहेको भए पनि सबै सिजनमा पाईने गरि व्यावसायिक च्याउँ खेती भने हुन सकेको छैन ।