
– डम्मर राज भट्ट
महेन्द्रनगर, ९ फागुन । होटल व्यवसायी परमान्द भण्डारीले शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पर्यटन प्रवद्र्धनका लागि शनिबारदेखि साप्ताहिक टुर प्याकेज सञ्चालनमा ल्याएका छन् । ‘शुक्लाफाँटा भ्रमण गरौ, पर्या पर्यटनका अवलोकन गरौ’ भन्ने नारा सहित हरेक शनिबारका लागि प्याकेज सञ्चालन गरिएको हो ।
नेपाल टुर एण्ड ट्राभल्स ( नाटा) सुदूरपश्चिम च्याटरका अध्यक्ष मायाप्रकाश भट्टले शनिबार आरक्ष प्रवेशद्वारमा आयोजित कार्यक्रममा प्याकेजको औपचारिक उद्घाटन गरेका छन् । प्याकेजमा आरक्ष घुम्न गएका बालिका सहित चार जनालाई खादा र टिका लगाइएको छ । भीमदत्त नगरपालिका–१८ कटानका सुनचाँदी व्यवसायी अशोक सिह सहितका उनका परिवारका अञ्जली अधिकारी सिह, आरती सिह र उशा अधिकार प्याकेजमा आरक्षमा जाने पहिलो पर्यटक भएका छन् । कार्यक्रममा अशोकलाई खादा र टिका सहित टोपी समेत लगाएको थियो ।

‘पहिला पनि दुई पटक आएको थिए, यो तेस्रो पटक हो, यस पटक यसरी सम्मान पाउँदा निकै खुसी भएको छु’ अशोक सिहले भने । दुई पटक आरक्ष घुमेका सिह प्याकेजमा धर्म पत्नि र छोरी सहित तेस्रो पटक गएका हुन् । उनकी छोरी आरती साढे ४ वर्षकी छन् ।
शुक्लाफाँटा आरक्षको प्रवेशद्वार नजिक सञ्चालत शुक्लाफाँटा जङ्गल कटेज र मोहित टुर एण्ड ट्राभल्स प्याकेजलाई प्रवद्र्धन गरेका छन् । प्याकेजमा पर्यटकले एक हजार दुई सयमा विहान ८ः०० बजेदेखि ४ः०० बजेसम्म भ्रमण गर्न पाउने छन् ।
‘सुदूरपश्चिममा पर्या पर्यटनको धेरै सम्भावना छन्, यस्ता सम्भावना विभिन्न कारणले प्रयोगमा आउन सकेका छैन’ शुक्लाफाँटा जङ्गल कटेजका सञ्चालक भण्डारीले भने,‘आरक्षमा पर्यटक आउन सके मलाई मात्रै होइन, यहाँ स्थानीय सहित जिल्लावासी सबैलाई फाइदा हुन्छ ।’ सरकारी तथा गैर सरकारी सबै निकायसित समन्वय गरी आरक्ष सहित सुदूरपश्चिम क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्य पहिचानका लागि लाग्ने बताए ।
शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले पर्यटन प्रवद्र्धनमा आरक्षले सधैं कार्य गर्दै आएको बताए । गड्डाचौकीस्थित अध्यागमन कार्यालय र आरक्षमा गाइड राख्न सकिए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाई थियो ।















प्रतिक्रिया