काठमाडौं, ९ फागुन । नेपाली राजनीतिको असर नपरेको कुनै क्षेत्र छैन् ।
जसको असर पछिल्लो समय खेलकुदमा समेत निकै बढेको छ । राष्ट्रियताको शिरलाई उचो बनाउने खेलको रुपमा चिनिएको क्रिकेट खेलमा पनि नेपाल राजनीतिको चपेटामा परेको छ । जसका कारण ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
यसैक्रममा आइतबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेटको विवाद तत्काल अन्त्य नगरे नेपाललाई निलम्बन गर्ने चेतावनी दिएको छ । क्रिकेट संघको विवाद लम्बिरहेका बेला आईसीसीले सम्वद्ध पक्षहरुलाई इमेलमार्फत पत्र पठाएर कडा कदम चाल्ने संकेत दिएको हो ।
आईसीसीका ग्लोबल डेभलोपमेन्ट प्रमुख टीम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघको तदर्थ समितिका अध्यक्ष रमेश शिलवाल र निर्वाचनबाट चुनिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेललाई पत्र पठाउँदै नेपालको क्रिकेट संघ दयनीय अवस्थामा रहेको भन्दै नेपाली क्रिकेटले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
मंसिरको अन्तिममा राखेपको अनुमति बिना क्यानको एक समूहले चुनाव गरेर चतुरबहादुर चन्दको नेतृत्वमा बोर्ड बनाएको छ । तर, राखेपले त्यसलाई मान्यता नदिएर रमेश सिलवानको नेतृत्वमा तदर्थ समिति बनाएपछि विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । अदालतले अन्तिम निर्णय दिन बाँकी छ, जसका कारण क्यान अहिले बोर्डविहीन र सीईओको भरमा चलेको छ ।
एन्डरसनले आगामी अप्रिलमा आईसीसीको बोर्ढ बैठक बस्ने र त्यसबेलासम्म स्थिति यस्तै रहे निलम्बनसम्मको कारबाही गर्न सक्ने बताएका छन् ।















प्रतिक्रिया