काठमाडौं, ६ फागुन । भारत र नेपालको सैनिक तथा कूटनीतिक स्रोतहरूले बताएअनुसार मंसिरदेखि नेपाली सेनाको युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापाको नेतृत्वमा गोप्य सैनिक टोली दिल्ली बसेको थियो ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीका विश्वासपात्र थापाको नेतृत्वमा सेनाका एकजना महासेनानी र प्रमुख सेनानी पनि थिए । थापाको करिब दुई साता लामो गोप्य भारत बसाइमा महत्त्वपूर्ण भेटवार्ता भएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उनीहरूको दिल्ली मिसनबारे राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली, रक्षामन्त्री भीम रावल र अर्थमन्त्री विष्णु पौडेल जानकार थिए ।
प्रधानसेनापतिले गृहकार्य गर्न लगाएर कन्फिडेन्सियल भ्रमण गराएका थिए । सेनाको विशेष मिसन तिहारलगत्तै दिल्ली गएर बसेको थियो ।
सैन्य स्रोतका अनुसार नाकाबन्दी भएदेखि नै सेनाले तराईको परिस्थितिबारे सूक्ष्म अध्ययन गरिरहेको थियो ।
सेनाको बुझाइमा तराईको आन्दोलन राजनीतिक, ल एन्ड अर्डर, राष्ट्रिय सुरक्षा र भारतसँगको कूटनीतिक गरी चार तरिकाबाट समाधान हुन्थ्यो ।
सेनाले तराईलाई नै केन्द्रमा राखेर गरेको अध्ययनमा नाकाबन्दीले नेपाल र भारतबीच चार विषयमा दीर्घकालीन प्रभाव पार्न सक्ने निष्कर्ष निकालिएको थियो । सुरक्षा र सामरिक प्रभाव, नेपाल–भारत सम्बन्धको कूटनीतिक प्रभाव, आर्थिक प्रभाव र सामाजिक प्रभाव पर्ने सेनाको विश्लेषण थियो ।
दिल्ली पुगेको सैन्य टोलीले आफ्नो विस्तृत अध्ययन विवरणसहित भारतीय सैनिक नेतृत्वसँग पटक–पटक छलफल गरेको थियो ।
धानसेनापतिको तर्फबाट नेपाली सेनाका उपरथी थापाले भारतका गृहमन्त्री राजनाथ सिंह, रक्षामन्त्री मनोहर परिकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय सेनाका स्थल सेनाध्यक्ष दलवीर सिंहसँग प्रत्यक्ष–परोक्ष कुराकानी गरेपछि परिस्थिति बदलिएको थियो ।
भारतीय सेनापतिको पहल
गोर्खा राइफल्सको कमान्डर भइसकेका भारतीय सेनाध्यक्ष दलवीर सिंह पनि नाकाबन्दीप्रति सन्तुष्ट थिएनन् । नेपाली सैन्य टोलीसँग भेटवार्ता र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँगका अनौपचारिक संवादपछि उनी नाकाबन्दी हटाउनुपर्नेमा पक्षमा लागे, उनले गृह, विदेश र रक्षामन्त्री, सुरक्षा सल्लाहकार, विदेशसचिवसँग भेट गरे ।
सिंहले नाकाबन्दी लामो समय जारी राख्दा नेपालबाट भारतका लागि सुरक्षा जोखिम बढ्ने विश्लेषणसहित उच्च नेतृत्वलाई नाकाबन्दी हटाउन लबिङ गरेका थिए ।
रक्षा र गृहमन्त्री सेनापतिको ब्रिफिङमा सुरुमै विश्वस्त भए । तर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव एस जयशंकर अन्तिमसम्म आश्वस्त भएनन् ।
अन्ततस् सेनापतिले नेपालबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ भयो । मोदीले नेपाल र भारतको हित हुने गरी अघि बढ्न विदेशसचिव र सुरक्षा सल्लाहकारलाई निर्देशन दिए । त्यसपछि भारत बदलिएको थियो ।















प्रतिक्रिया