
कृष्णपुर (कञ्चनपुर), ५ फागुन । कञ्चनपुरमा क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी छ ।
यसक्रममा कृष्णपुर नगरपालिकाको गुलरियास्थित कृष्ण उच्च माविमा सम्पन्न आठौं अन्तरमावि क्षेत्र नम्बर २ स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सरस्वती मावि छोटीपर्सिया प्रथम भएको छ ।
प्रतियोगिताभर ९ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित २ सय ६ अंक पाएर सरस्वती मावि छोटी पर्सिया प्रथम भएको हो ।
कञ्चन माध्यमिक विद्यालय शान्तिपुर ६ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित १ सय ४ अंक ल्याएर प्रतियोगितामा द्वितीय भएको छ ।
प्रतियोगितामा १ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित १ सय ३ अंक ल्याएर धर्म जनता उच्च मावि झलारी तृतीय भएको छ ।
प्रतियोगिता फागुन २ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको हो । २५ वटा विद्यालयको सहभागिता रहेको क्षेत्रीय प्रतियोगिताको बुधबार औपचारिक कार्यक्रम गरेर समापन गरिएको छ ।
प्रतियोगिता अन्तर्गत छात्र कबड्डीतर्फ असिग्राम मावि सिसैया प्रथम, छात्रा कबड्डीतर्फ भानु उमावि शंकरपुर प्रथम, भलिबल छात्रतफ राष्ट्रिय उमावि पहरिया प्रथम, भलिबल छात्रातर्फ विणा उमावि रैकवार प्रथम भएका छन् । मार्चपासमा कृष्ण उमावि झलारी प्रथम र कृष्ण उमावि कृष्णपुर द्वितीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।
प्रमुख अतिथिद्वारा २१ हजार रुपैयाँ आर्थिक सहयोग
आठौं अन्तरमावि क्षेत्र नम्बर २ स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि तथा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य ओमविक्रम भाट ‘सरल’ले प्रतियोगिता आयोजक कृष्ण उच्च मावि गुलरियालाई २१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । प्रतियोगिता सञ्चालन र विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुर्याउन आर्थिक सहयोग गरेको प्रमुख अतिथि सरलले बताए ।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि सरलले कृष्ण उच्च माविमा थप प्राविधिक कोर्स सञ्चालनका लागि पहल गर्ने बताए । उनका अनुसार खेलकुदले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएकाले खेलकुदको विकासमा सबैले सहयोग पु¥याउनुपर्छ । ‘व्यक्तित्व र राष्ट्रको विकासका लागि खेलकुद आवश्यक छ,’ सरलले भने, ‘विद्यालयको विकासका लागि व्यक्तिगत र पार्टीगत रुपमा केन्द्रमा पहल गर्नेछु ।’
सरलको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापन समारोहमा जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह सभापति रहेका थिए । समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश मल्ल विशिष्ट अतिथि रहेका थिए ।
प्रतियोगितामा एकीकृत नेकपा माओवादी कञ्चनपुरका सहसचिव अमिन दहित, विद्यालय निरीक्षक देवदत्त पन्त, वाइसिएल नेपालका केन्द्रीय सदस्य अर्जुन साउँद, जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका पूर्वउपाध्यक्ष राधाकृष्ण जोशी र देवराज पाठक लगायतको सहभागिता रहेको थियो ।















प्रतिक्रिया