१ कार्तिक २०८३, शनिबार

भारतलाई उसकै घरमा हराएर फर्किएका नवयुगको बयानः भारतसँग बदला लियौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_6365– लक्ष्मी काफ्ले

बिर्तामोड, ५ फागुन । भारतमा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्न सफल नेपाली फुटबल टोलीलाई बुधबार काँकरभिट्टामा भव्य स्वागत गरिएको छ । भारतको गुवाहाटीबाट बागडोग्रा हुँदै टोली दिउँसो १ बजे पूर्वी प्रवेशद्वार काँकरभिट्टा आइपुगेको हो ।

खेलाडीलाई स्वागत गर्न काँकरभिट्टास्थित भन्सार पार्किङ एरियामा बिहान ११ बजेदेखि नै भीड लागेको थियो । हजारौँको सङ्ख्यामा भेला भएका सर्वसाधारणले खेलाडी र प्रशिक्षकको स्वागत गरे । खेलाडीको स्वागत गर्न सर्वसाधारण मेची पुलको मुखदेखि नै लाम लागेर बसेका थिए । सर्वसाधारणले प्रतिक्षा गरेको झण्डै दुई घण्टापछि मात्र खेलाडीलाई काँकरभिट्टा ल्याइपुर्याइएको थियो । कडा सुरक्षाका साथ ६ वडा गाडीमा आएका खेलाडीलाई पुष्पगुच्छा, अविर, खादा र फुलमालाले स्वागत गरिएको थियो ।

IMG_6318

IMG_6338खेल समर्थकले ‘हिप हिप हुर्रे’, यो जीत कस्को– नेपालको’ लगायतका नारा लगाएका थिए । खेलाडीलाई छुन विद्यार्थी तथा युवाहरु हतारिएको देखिन्थ्यो । खेलाडीलाई स्वागत गर्न खेलकुद मन्त्री सत्यनारायण मण्डल, झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली, खेलकुद विकास समिति झापाका अध्यक्ष शङ्कर थापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी श्यामकृष्ण अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, निजी तथा सरकारी विद्यालयका विद्यार्थी, प्रहरी, नेपाली सेना लगायतको बाक्लो उपस्थिति थियो ।

भीडले नवयुग श्रेष्ठ र बिमल घर्ती मगरको नाम हुटिङ गरिरह्यो । प्रतियोगितामा सर्वाधिक गोल गर्ने नवयुगलाई स्वागत गर्न इलाम र पाँचथरबाट समेत खेल समर्थकको उपस्थिति थियो । उनीहरु खेलाडीसँग फोटो खिचाउन व्यस्त देखिन्थे । भीडका कारण खेलाडीसँग दोहोरो संवाद गर्न मुस्किल थियो । ‘मैले जे सोचेको थिएँ, त्यही भयो,’ टिमका स्ट्राइकर बिमल घर्तीमगरले हिँड्दै-हिँड्दै भने, ‘सागको फाइनल जित्ने मेरो सपना थियो, त्यो पूरा भयो ।’

भीडका कारण गाडीबाट ओर्लिएर स्टेजसम्म पुग्न खेलाडीलाई झण्डै १० मिनेट लागेको थियो । ‘म पहिलेदेखि नै चाहन्थेँ भारतलाई हराउन, त्यो पूरा भयो,’ स्ट्राइकर नवयुगले भने, ‘भारतमा हामीलाई दर्शकले पनि भरपूर साथ दिनुभयो, अर्को देशमा नेपाली दर्शक पुगेर हुटिङ गर्दा छुट्टै उर्जा पाइँदो रहेछ ।’ समर्थकले नवयुगलाई काँधमा बोकेर स्टेजसम्म पुर्याएका थिए ।

IMG_6344

काँकरभिट्टामा स्वागत गरेपछि खेलाडीलाई बोलेरोमा चढाएर इटाभट्टा, धुलाबारी, चारआली, बिर्तामोड, गरामनी हुँदै चन्द्रगढी बिमानस्थल पुर्याइएको थियो । उनीहरुलाई स्वागत गर्न चोकचोकमा विद्यार्थी, प्रहरी र सर्वसाधारण हातमा फुल र राष्ट्रिय झण्डा बोकेर बसेका थिए । चन्द्रगढी विमानस्थलबाट खेलाडीलाई राजनाधीका लागि विदाई गरिएको थियो । खेलाडीलाई बुधबार नै राजधानीमा पनि भव्य स्वागत गरिएको थियो ।

IMG_6404

तस्वीरः बुद्ध तामाङ/झापा