
– दीपक ओली
धनगढी, ५ फागुन । कैलालीको अत्तरियामा आयोजना हुने अत्तरिया महोत्सव, २०७२ को तयारी पुरा भएको छ । भोली बिहीबारबाट शुरु हुने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘समृद्ध सुदूरपश्चिमको आधार :कृषि, पर्यटन र ब्यापार’ भन्ने नाराका साथ अत्तरिया नगर उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सव ११ दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष बसन्त रोकायाले बताए ।
उनले महोत्सवको तयारी पुरा भइसकेको र महोत्सवमा एक सय ५० व्यापारिक स्टल रहने बताए । महोत्सवको उद्घाटन गर्न उपराष्ट्रपति पुन आज धनगढी आइसकेका छन् ।
संघले महोत्सव अवधिमा अढाई लाख बढी दर्शकले अवलोकन गर्ने र ६ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरेको छ । महोत्सव अवलोकनका लागि सर्वसाधरणलाई ४० रुपैयाँ र विद्यार्थीलाई ३० रुपैयाँ टिकट तोकिएको छ ।
महोत्सवमा सुदूरपश्चिमका ९ वटै जिल्लाका खानाका परिकार राखिने र नजिकैको जैविक तलाउ लामीतालमा डुंगा भ्रमणको व्यवस्था गरिएको बताए । महोत्सवमा विभिन्न समुदायको संस्कृति झल्कने झाँकी प्रस्तुतीका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मनोरञ्जनत्मक कार्यक्रम प्रस्तुत गर्नेछन् ।
साढे तिन रुपैयाँ सामाजिक कार्यमा
संघले अत्तरिया महोत्सवमा बिक्री हुने टिकटबाट प्रतिटिकट साढे तीन रुपैयाँ सामाजिक कार्यका लागि छुट्याउने भएको छ ।
संघका अध्यक्ष रोकायाले महोत्सव अवलोकनका लागि बिक्री हुने टिकबाट अढाई रुपैयाँ धनगढी क्रिकेट एकेडेमीको विकासमा खर्च गरिने बताए । त्यस्तै, प्रतिटिकट ५० पैसा गोदावरीमा क्रियापुत्री घर निर्माणमा, २५ पैसा अत्तरियास्थित सुदूरपश्चिम समावेशी विद्यालयको विकासमा र २५ पैसा लामीतालको संरक्षण र विकासमा खर्च गरिने बताए ।
तीनओटा माग
महोत्सवमार्फत अत्तरिया उद्योग बाणिज्य संघले सरकारसमक्ष प्रमुख तीन माग प्रस्तुत गर्ने तयारी गरेको छ ।
संघका अध्यक्ष रोकायाका अनुसार गेटा मेडिकल कलेज सिघ्र निर्माण, सुदूरपश्चिममा औद्योगिक करिडोर स्थापना र धनगढी विमानस्थलको स्तरोन्नती प्रमुख माग रहेको बताए ।















प्रतिक्रिया