३० आश्विन २०८३, शुक्रबार

चीनले ‘नाकाबन्दी’ गरेपछि नेपाललाई करोडौं घाटा, रसुवा भन्सारको राजस्व शून्यमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwagadi-Kerung-Naka (1)

-ज्ञानेन्द्र न्यौपाने
धुन्चे (रसुवा), ५ फागुन । रसुवागढी नाका सञ्चालन भई चिनियाँ सामान आउन थालेपछि ह्वात्तै बढेको भन्सार राजस्व आजभोलि शू्न्यमा झरेको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार बर्सेनि चिनियाँ भूभागको तिब्बत क्षेत्रमा परम्पराअनुरुप वसन्त पर्व अर्थात् ल्होछार पर्व मनाउन त्यहाँका व्यवसायी व्यस्त भएका कारण सामान आयात बन्द भई केही साताअघिदेखि राजस्व उठ्तीमा शून्यता छाएको हो । अब दुई हप्ताभित्र सामान आयात सञ्चालन हुने अपेक्षा गरिएको बताइएको छ ।

गत वैशाख १२ को भूकम्पले रसुवागढी सीमा क्षेत्र ध्वस्त भएपछि भन्सार कार्यालय टिमुरेमा स्थानान्तरण गरी भन्सार कार्यालय चालु भएको दुई महिनाको हाराहारीमा रु ७१ करोड राजस्व उठेको प्रमुख भन्सार अधिकृत पनेरु बताउनुहुन्छ । वार्षिक रु ३९ करोड राजस्व उठाउने लक्ष्य लिएको भन्सार कार्यालयले गत मङ्सिर १० गतेदेखि केरुङ हुँदै रसुवागढीबाट सामान भित्रन थालेपछि छोटो अवधिमा धैरै राजस्व उठाउन सफल भएको अधिकारी बताउँछन् ।

भूकम्पपछि नाका पुनःसञ्चालनको घोषणा वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइराला, चिनियाँ अधिकारी मिस्टर मीमाले गत कात्तिक १५ गते घोषणा गरेका थिए । एक मात्र चालु नाका छोटो दूरी, ढुवानी भाडा कम भएबाट बढी व्यापारी रसुवागढी केन्द्रित भई सामान आयात गराउन थालेका कारण राजस्वमा वृद्धि भएको व्यापारीको भनाइ छ ।

सामानको आयात
नेपालबाट थोरबहुत मात्र नरिवल जट्टाका फोम, हस्तकला सामग्री, सख्खर, मैदाजस्ता वस्तु चीनतर्फ निर्यात भएको र चीनबाट जुत्ता, चप्पल, तयारी पोसाक, बेरिएका कपडा, विद्युतीय सामान, स्याउ, कुकर जस्ता सामग्री आयात हुने गरेको छ । भन्सार परीक्षण छिटोछरितो हुँदा बढी व्यवसायी रसुवागढी केन्द्रित हुने गरेको नेपाल चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो ।

चिनियाँ भूभागबाट रसुवागढी प्रवेश गरेका सबै कन्टेनरलाई भन्सारको पार्किङ स्थलमा पङ्क्तिमा राखी दैनिक डेढ दर्जन ट्रकका सामान छिटोछरितो परीक्षण गराई सिलबन्दी गर्ने गरेको र १७ जनाभन्दा बढी जाँचकी परिचालन गर्ने गरिएको भन्सार कार्यालयले जनाएको छ ।

सडकको अवस्था
काठमाडौँ–गल्छी–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी–रसुवागढी क्षेत्रको प्रमुख राजमार्ग करिब १६० किमी सडक दूरीमध्ये राम्चे र मूलखर्क क्षेत्रको करिब ६ किमी पहिरो क्षेत्रको भाग थप सुधार गर्नुपर्ने र अन्य स्थानमा ‘साइड’ दिन असहज हुँदा ठाउँ ठाउँका भाग फराकिलो बनाउनुपर्ने कन्टेनर ट्रक चालकले बताएका छन् । रसुवागढीबाट केरुङको दूरी भने २५ किमी रहेको बताइन्छ ।

ठूला व्यवसायीको आग्रह
नेपाल चीनबीचको व्यापार व्यवसाय भूकम्पपछि रसुवागढी केन्द्रित भएको र व्यवसायीको साथै रसुवा जिल्लाबाहेक अन्य ठाउँमा कन्टेनर चालक रसुवागढीबाट केरुङ जान नपाउँदा एकातिर सामान हराउने समस्या र अर्कातिर आएका सामान कति छन् भन्ने भन्सार सामु घोषणा गर्न गाह्रो परिरहेको छ ।

व्यवसायीको समस्या सरकार सामु बारम्बार दर्साए पनि सरकारले बेवास्ता गरिरहेको र रसुवागढी नाकाबाट मालधनी र सबै कन्टेनर चालक शीघ्र केरुङ जान पाउने वातावरण सिर्जना गरी तातोपानी नाकाको खासामा भूकम्प अगाडिदेखि थन्किएको छ सयभन्दा बढी ट्रकका सामग्री केरुङ बाटो हुँदै नेपाल भित्र्याउन कूटनीतिक पहलका लागि समेत सरकारसामु आग्रह गरिएको नेपाल व्यापार सङ्घका अध्यक्ष कुमार कार्कीले बताउनुभयो ।

तिब्बती ल्होछार पर्वले गर्दा एक महिना मात्र आवतजावत बन्द भए पनि अन्य समयमा व्यापारी र व्यवसायीको र चालक दलका सदस्यको बाक्लो उपस्थितिले अहिले स्थानीय टिमुरेको अधिकांश बासिन्दा होटल व्यस्त छन् । टिमुरेमा दर्जनौँ होटल खुलेका छन् । यात्रुको चापले छिटो सेवा पु¥याउन धौधौ परिरहेको स्थानीय होटल व्यवसायी बताउँछन् । खसी बोकाको मासु आपूर्ति भने न्यून रहेको बताइएको छ ।

सुरक्षा व्यवस्था
ट्राफिक व्यवस्थापनका साथै चालक र कन्टेनर व्यवसायीबीच हुन सक्ने मनमुटावलाई न्यूनीकरण गर्दै सुरक्षा व्यवस्था सुमधुर पार्न नेपाल प्रहरीको ठाउँ ठाउँमा गस्ती बढाई सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरी प्रमुख अवदेश विष्टले बताउनुभयो ।

भन्सार कार्यालय टिमुरेमा स्थापना भएपछि सीमा क्षेत्रको सुरक्षा र अत्यधिक मालसामान चुहावट हुन नदिन सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टुकडी तैनाथ भएको छ । नेपाल प्रहरीको सीमा प्रहरी चौकी शान्तिसुरक्षा कायम राख्ने कार्यमा अहोरात्र खटिएको छ । रासस