१ कार्तिक २०८३, शनिबार

साग फुटबलः भारतलाई हराएर २३ वर्षपछि नेपाललाई इतिहास रच्ने मौका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-7-660x330

काठमाडौँ, ३ फागुन । बाहौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल आज हुँदैछन् ।

पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७ः१५ बजे हुनेछ । त्यस्तै, नेपाल र भारतबीचकै महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४ः१५ बजे हुनेछ ।

पुरुष फुटबलअन्तर्गत शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा बङ्गलादेशलाई ३–० ले पाखा लगाएको थियो ।

त्यस्तै, महिलातर्फ दक्षिण एसियाका पाँच टोली (नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का)मध्ये राउण्डरोबिनका आधारमा अङ्कतालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सिधै फाइनलमा प्रवेश गरेका हुन् ।

फाइल फोटो

लिग चरणमा नेपालले श्रीलङ्कालाई ४–०, बङ्गलादेशलाई ३–०, माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो । यता भारतले श्रीलङ्कालाई ५–०, बङ्गलादेशलाई ५–१ ले हराएको थियो भने नेपाल र माल्दिभ्ससँगको खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो ।

त्यसैगरी, पुरुष फुटबलमा समूह ‘बी’ मा रहेको नेपालले भुटानलाई ५–० ले हराएको थियो भने बङ्गलादेशसँग १–२ ले नतिजा सुम्पिँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । साथै, समूह ‘ए’ को उपविजेता भएर चित्त बुझाएको भारतले माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो भने श्रीलङ्कासँग ०–१ को हार व्यहोरेको थियो ।

साग फुटबलमा नेपाललाई २३ वर्षपछि उपाधि हात पार्ने मौका

साग फुटबलमा नेपालले नेपालले सन् १९८४ र १९९३ मा स्वर्णपदक जितेको थियो । त्यसयता नेपालले स्वर्णपदक हात पार्न सकेको छैन् । स्वर्णपदक भनेको उपाधि जित्नु हो ।

यसपटक नेपाललाई दुई स्वर्णपदकको अवसर छ किनकि पुरुष फुटबलका साथै महिला फुटबल पनि फाइनलमा छ । र आज दुबैको भिडन्त भारतसँग हुँदैछ । दुबै टिमले भारतलाई पराजित गरे नेपालले दुई वटा स्वर्णपदक हात पार्दै २३ वर्षपछि सागमा इतिहास रच्नेछ ।

यसअघि पुरुषतर्फको नेपाली राष्ट्रिय टिमले तीन साताअघि बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टिमले २३ वर्षपछि जितेको उपाधि थियो त्यो । नेपालको तेस्रो उपाधि पनि हो ।