काठमाडौं, ३ फागुन । एमाले नेताहरूले अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलनलाई पार्टीको दशौँ महाधिवेशनसँग जोडेर प्रतिष्ठाको विषय बनाएका छन् । अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल खेमाका नेताहरूले अखिलमा जित्न सके पार्टीको आगामी महाधिवेशनमा आफ्नो पक्षले सहजै जित्न सक्ने औपचारिक घोषणा नै गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तीन दिन लम्बियो, खर्च बढेर एक करोड
तीन दिनका लागि पूर्वघोषित सम्मेलन कम्तीमा तीनदेखि चार दिन लम्बिने भएको छ । शनिबार सकिनुपर्ने सम्मेलनको आइतबारसम्म निर्वाचन प्रक्रियासमेत अघि बढेको छैन । शनिबार मात्रै दुई सय विवादित प्रतिनिधिको टुंगो लगाइएको छ । महाधिवेशनको समयावधि कम्तीमा तीन दिन लम्बिँदा खर्च एक करोड नाघ्ने अनेरास्ववियुले जनाएको छ । यसअघि आवास र खानाका लागि कम्तीमा ६० लाख खर्च हुने अनुमान गरिएको थियो ।
एमालेको नवौ महाधिवेशनको झल्को
अध्यक्ष ओली तथा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल तथा महासचिव ईश्वर पोखरेललगायतका नेता भने दुवै समूहको भेलामा देखिएका छैनन् । तर, पृष्ठभूमिमा चार नेताको संरक्षणमै सम्मेलन लम्बिएको स्रोतको भनाइ छ । पार्टी नेताहरू नवौँ महाधिवेशनकै शैलीमा विद्यार्थीका भेलामा सक्रिय छन् । अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका सचिव योगेश भट्टराई, पूर्वमहासचिव तथा पार्टी उपमहासचिव घनश्याम भुसाललगायतले दीपक गौतम नेतृत्वको समूह तथा पूर्वअध्यक्ष तथा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल एमालेको महाधिवेशन झल्को दिने गरी नवीना लामाको पक्षमा खटिएका छन् ।
नवीनाले जित्दा जबज पक्षधरको विजय : पोखरेल
पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको रक्षा र प्रयोगका लागि नवीनाको टिमलाई शिरदेखि तिरसम्म जिताउनैपर्छ । यो टिमले नजित्दा जनताको बहुदलीय जनवादले हार्छ ।
यलम्बरमा नवीना समूहको भेला
नवीना समूहले यलम्बर पार्टी प्यालेसमा शनिबार र आइतबार दुईपटक भेला आयोजना गरेको छ । पूर्व विद्यार्थी नेता शंकर पोखरेलको प्रमुख आतिथ्यमा दुईपटक आयोजित भेलामध्ये अघिल्लो भेलाले पदाधिकारीको उम्मेदवार घोषणा गरेको थियो भने पछिल्लो भेलामा सांस्कृतिक कार्यक्रम आयोजना गर्यो । भेलामा पोखरेलसहित पूर्वमहासचिव ढकालले पार्टीको मार्गदर्शक सिद्धान्त जबज बचाएर यसको सही प्रयोगका लागि नवीना ‘टिम’लाई जिताउन निर्देशन दिए ।
क्वालिटीमा गौतम समूहको भेला
गौतम समूहले क्वालिटी बैंक्वेट बुद्धनगरमा आइतबार भेला आयोजना गरी पदाधिकारीको उम्मेदवार सार्वजनिक गरेको छ । भेलामा पूर्व विद्यार्थी नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, राजेन्द्र राई, ठाकुर गैरे, रामकुमारी झाँक्रीलगायतले नवौँ महाधिवेशनबाट स्थापित पार्टीको विचार स्थापित गर्दै दशौँ महाधिवेशनमा नीतिअनुरूपको पार्टी नेतृत्व निर्माणका लागि गौतम समूहलाई जिताउन निर्देशन दिए । उनीहरूले भेलामा पार्टीको नेतृत्व गर्न अध्यक्ष केपी ओली पूर्ण असफल भइसकेको भन्दै विकल्प खोज्नुपर्ने वेला आइसकेको घोषणासमेत गरे ।















प्रतिक्रिया