१ कार्तिक २०८३, शनिबार

सोमबार नेपाल-भारतबीच फुटबलका दुई फाइनल, कसले जित्ला उपाधि ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football

काठमाडौँ, २ फागुन । बाहौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् ।

पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७ः१५ बजे हुनेछ । त्यस्तै, नेपाल र भारतबीचकै महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४ः१५ बजे हुनेछ ।

पुरुष फुटबलअन्तर्गत शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा बङ्गलादेशलाई ३–० ले पाखा लगाएको थियो ।

त्यस्तै, महिलातर्फ दक्षिण एसियाका पाँच टोली (नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का)मध्ये राउण्डरोबिनका आधारमा अङ्कतालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सिधै फाइनलमा प्रवेश गरेका हुन् ।

लिग चरणमा नेपालले श्रीलङ्कालाई ४–०, बङ्गलादेशलाई ३–०, माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो । यता भारतले श्रीलङ्कालाई ५–०, बङ्गलादेशलाई ५–१ ले हराएको थियो भने नेपाल र माल्दिभ्ससँगको खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो ।

त्यसैगरी, पुरुष फुटबलमा समूह ‘बी’ मा रहेको नेपालले भुटानलाई ५–० ले हराएको थियो भने बङ्गलादेशसँग १–२ ले नतिजा सुम्पिँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । साथै, समूह ‘ए’ को उपविजेता भएर चित्त बुझाएको भारतले माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो भने श्रीलङ्कासँग ०–१ को हार व्यहोरेको थियो ।

कसले जित्ला उपाधि ?

फुटबल विश्लेषकका अनुसार नेपालका पुरुष र महिला टिममध्ये महिला टिमले सहजै उपाधि जित्ने देखिएको छ । नेपाली चेलीहरुको टिमले सुरु देखि नै आक्रमक खेलिरहेको छ । उक्त टोलीले यसअघि भारतसँग बराबरी खेलेको थियो ।

यसैगरी पुरुष फुटबलमा भने नेपालले अलि मेहनत गर्नुपर्ने बताइन्छ । भारत बोलियो टिम हो । तर, नेपालले गतिलो प्रदर्शन गर्न सके १७ वर्षपछि सागको उपाधि जित्नेछ । यो नेपालका लागि ठूलो अवसर हो । रासस