१ कार्तिक २०८३, आइतबार

पैसा लगेर अध्यक्ष भागेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa-Moneyसोलुखुम्बु, २ फागुन । आयोजनाको अध्यक्ष रकम लिएर भागेका कारण वाकुबासीले सात वर्ष बितिसक्दा पनि विद्युत् बाल्न पाएका छैनन् ।

गाउँमा बिजुली बाल्नका लागि २०६५ सालमा थानेखोला लघु जलविद्युत् आयोजना निर्माण उपभोक्ता समिति गठन गरिए पनि सङ्कलन भएको रकम लिएर अध्यक्ष उत्तरकुमार राई भागेपछि त्यहाँका बासिन्दाको बिजुली बाल्ने रहर अझै पूरा नभएको हो ।

गाउँमा बिजुली बाल्नका लागि वाकुका बासिन्दाले प्रतिघर कम्तीमा रु पाँच हजार जम्मा गरे पनि उनीहरुको बिजुली बाल्ने चाहना पूरा भएकै छैन । गाउँलेले ऋण गरेर तथा गोठमा भएका हलगोरु बेचेर त्यस बेला रकम जम्मा गरेका थिए तर अध्यक्षले पैसा लिएर भागेपछि रकम समेत डुब्यो ।
वाकु– ९ मा रहेको थानेखोलाबाट बिजुली निकालेर गाउँ झलमल पार्नका लागि गाविसको १७ आँैं, १८ आँैं र १९आँैं गाउँ परिषद्बाट गाविसका धेरैजसो अनुदान छुट्याए । अनि ४१४ घरधुरी गाउँलेले प्रतिघर रु पाँच हजारका दरले रकम सङ्कलन गरे ।

उक्त आयोजनाका लागि अहिलेसम्म रु ४४ लाख ३१ हजार ७०० जम्मा भएको देखिन्छ । काम हुने छाँट भने अझै देखिएको छैन ।

स्थानीयवासीको पैसा लिएर भागेका अध्यक्ष राई मूर्ति चोरीमा संलग्न भई दुई वर्षदेखि कारागारमा छन् । “उनी थुनामा बस्दै गर्दा वाकुबासीको प्रतिघर रु पाँच हजार त हरायो नै बिजुली बाल्ने आशा पनि मर्दै गयो”– स्थानीयवासी दिनेशकुमार राईले बताउनुभयो । रासस