१ कार्तिक २०८३, शनिबार

गायक रेउलेले के देखे रोइलामा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna Reule Singer Salyan– विमल योगी

काठमाडौं । लोक तथा दोहोरी गीतमा नाम कमाएका कृष्ण रेउलेका विषयमा धेरै भन्नु उचित हुँदैन । उनीको नाम लोकदोहोरीको क्षेत्रमा चर्चित मानिन्छ । उनलाई नचिन्ने सायदै होलान । उनलाई प्रत्यक्ष नदेखेपनि स्वरबाट धेरैले चिनेका छन् ।

२०५५ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेका गायक रेउलेले गीतसंगीतको यात्राका क्रममा झण्डै दुई सय गीतमा स्वर दिइसकेका छन् । उनले अहिले पनि गीतसंगीतको क्षेत्रमा उत्तिकै समय दिन्छन् ।

मध्यपश्चिमाञ्चलबाट गीतसंगीत मै लाग्ने योजना बनाएर राजधानी प्रवेश गरेका गायक रेउलेलाई पछाडि फर्केर हेर्नुपर्ने अवस्था आएको छैन । उनको स्वरमा मिठास छ । स्वरमा मिठास भएकै कारण रेउलेलाई लोकदोहोरी गीतका लागि खोज्ने गरिएको हो ।

लोक तथा आधुनिकमा रेउलेलाई नारायण रायमाझी र गोपाल योञ्जनका गीत मन पर्छन् । उनले कुनै गायकलाई सम्झिनु पर्‍यो भने रायमाझी र योञ्जनलाई सम्झन्छन् । रायमाझी र योञ्जनका गीतहरुबाट रेउले अति प्रभावित छन् ।

सामाजिक कार्यमा पनि सक्रिय रहेका गायक रेउलेले पछिल्लो पटक रोइला भाखामा लोकदोहोरी गीत ल्याएका छन् । रेउलेले ‘तिमी नै हौ मेरो दिलको भन्थ्यौ मलाई राजा………केटादेखे खालि छ दिल भन्दै हिन्थ्यौ आज…..ढल्किएला जोवान’ बोलको आफ्नो लोकदोहोरी बुधबार सार्वजनिक गरिसकेका छन् ।

Krishnaभजन र चुट्काको लयमा बनाइएको यो रोइलामा गायक रेउलेलाई गायिका सम्झना लामिछानेले साथ दिएकी छिन् । रोइलाको शब्द कमला क्षत्रीले लेखेकी हुन् भने लय किरण अधिकारको हो । गीत चट्पटे र छिटो भाखामा बनाइएको छ ।

गायक रेउलेले बबरमहलमा रहेको प्रिज्मा रेकर्डिङ स्टूडियोमा गीत रेकर्ड गराएका हुन् । ‘रोइला गीतको संरक्षणका लागि पनि यो गीत रेकर्ड गर्नु अनिर्वाय थियो’, उनले भने, ‘सबै गीत पैसाका लागि मात्रै हुँदैनन् । कतिपय गीत हाम्रो संस्कृतिको संरक्षणका लागि पनि गर्नुपर्छ ।’

यो रोइला गीतको भाखा विशेष गरेर पश्चिमाञ्चलका जिल्लाहरुमा चलन चल्तीमा छ । तर अहिले आएर यो भाखा लोप हुँदै आएको छ ।

म्युजिक भिडियो समेत बनाएका रेउलेले रोइलाका लागि ठूलै मिहिनेत गरेका छन् । गीतमा रेउले स्वयंले अभिनय गरेका छन् । उनलाई मोडलिङमा पुष्कर अर्याल र रश्मी तामाङले साथ दिएका छन् ।