
काठमाडौं, २९ माघ । आईएमई समुह तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘अति कम विकसित राष्ट्रको स्तानबुल कार्ययोजना तथा दिगो विकास’ सम्बन्धि एक दिवसीय कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।
उहाँलाई अति कम विकसित राष्ट्रहरुबाट नीजि क्षेत्रको प्रतिनिधित्वका लागि संयुक्त राष्ट्रसंघ महासभाको ७० औं सत्रका अध्यक्षले यही ११ फेब्रुवरी २०१६ मा आयोजित एक दिवसीय विशेष समिक्षा कार्यक्रममा अतिथी वक्ताको रुपमा आमन्त्रण गर्नुभएको थियो ।

अति कम विकसित राष्ट्रहरुको दिगो आर्थिक विकास तथा अति कम विकसित राष्ट्रबाट विकासिल राष्ट्रमा स्तरोन्नति गर्ने उद्देश्यका साथ सन् २०११ माटर्कीको स्तानबुलमा बसेको संयुक्त राष्ट्र संघको चौथो सम्मेलनले पारित गरेका कार्ययोजनाको कार्यान्वयनको मध्यावधि समीक्षामा उक्त कार्यक्रम केन्द्रीत थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अति कम विकसित राष्ट्रहरुमा रोजगारीको सिर्जना गर्न, गरिबीको न्यूनीकरण गर्न, राज्यकोषमा राजश्व बढाउन, वस्तु तथा सेवाहरुको सहज आपूर्ति तथा वितरण गर्न र विकासका पूर्वाधारहरुको निर्माणमा सम्भाव्य नयाँ क्षेत्रको पहिचान गरि लगानी विस्तार गर्न नीजि क्षेत्रले विशेष भूमिका खेलिरहेको बताउनुभयो ।
सार्वजनिक नीजि साझेदारीको माध्यमबाट नेपाल लगायत अन्य अति कम विकसित देशहरुले दिगो आर्थिक बृद्धि हासिल गर्न आवश्यक पुँजीगत लगानीको फराकिलो अन्तरलाई न्यूनीकरण गर्न नीजि क्षेत्रलाई एक मुख्य साझेदार अंगको रुपमा हेरिनुपर्ने बताउनुभयो ।
सभालाई ७० औं सभाका अध्यक्ष मोगेन्स लिकीटोफ्त एवम् संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले उद्घाटन मन्तब्य व्यक्त गर्नुभएको थियो । उक्त एक दिवसीय विशेष समिक्षा कार्यक्रममा सदस्य राष्ट्रका राजदूतहरु लगायत नागरिक समाज, गैरसरकारी संस्था र प्राज्ञिक समुदायले पनि सम्बोधन गरेका थिए ।















प्रतिक्रिया