
– चन्द्रकला भण्डारी
काँकडभिट्टा (झापा), २९ माघ । कुनै बेला धान र चियाखेतीका लागि प्रसिद्ध झापा जिल्ला केही वर्षयता सुपारी खेतीबाट चिनिन थालेको छ ।
जन्मदादेखि मर्दासम्म चाहिने सुपारीको परापूर्वकालदेखि धार्मिक महत्व रहँदै आएको छ । पूजापाठ र पाहुनाको सत्कारमा पानको पात र सुपारीको प्रयोग हुन्थ्यो । तर, अहिले धार्मिक तथा सत्कार प्रयोजनका लागि मात्र नभएर विदेश निर्यात हुने मुख्य बस्तुको सूचीमा सुपारी समेटिएको छ । भारतलगायतका मुलुकमा सुपारीको दाना निकासी हुन थालेपछि किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।
विसं १९८८ मा भारतको आसामस्थित वियालीबाट गङ्गाधर घिमिरेले झापाको शान्तिनगरमा सुपारीका केही बिरुवा ल्याएर रोपेका थिए । नेपालमा सुपारीको खेतीको सुरुवात त्यसैलाई मानिएको नेपाल सुपारीखेती विकास संस्थाका महासचिव निलकण्ठ तिवारी बताउनुहुन्छ । “पान खाने बानी भएका गङ्गाधरले नेपाल आउँदा सुपारीका बिरुवा ल्याएर रोप्नुभएको इतिहास भेटिन्छ”, उहाँले भन्नुभयो । पछि लटरम्म दाना फल्न थालेको देखेर अरुले पनि सुपारी रोप्न थाले ।
हाल झापा, मोरङ, सुनसरी र इलामलाई सुपारीखेती हुने मुख्य जिल्लाका रुपमा चिनिएको छ भने झापामा सबैभन्दा बढी उत्पादन हुन्छ । जिल्लामा दुई हजार ६८५ हेक्टर जमिनमा वार्षिक नौ हजार ७७२ मेट्रिक टन सुपारी उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । समुन्द्र सतहदेखि एक हजार २०० मिटरको उचाइसम्म १४ देखि ३६ डिग्री सेल्सियस तापव्रmम भएको पानी नजम्ने र धेरै सुख्खा नहुने भू–बनोट सुपारी खेतीका लागि उपयुक्त मानिने कृषि विकास कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराई बताउनुहुन्छ ।
सुपारीका लागि जिल्लाको पूर्व–पश्चिम राजमार्ग उत्तरको भू–भाग ज्यादै उपयुक्त मानिन्छ भने यहाँ मोहितनगर, हिरहिल्ली, सुमङ्गला, मङ्गला, श्रीमङ्गला, काइकुँचीलगायत जातका सुपारी खेती हुँदै आएको छ । काँचो भन्दा प्रशोधन गरिएको सुपारीले बढी मूल्य पाउने हुँदा किसान केही वर्षयता सङ्गठित भएर यसको प्रशोधनमा लागेका छन् । उनीहरुले सहकारी संस्था स्थापना गरी गाउँमै प्रशोधन केन्द्र सञ्चालन गरेका छन् । जिल्लामा ३४ वटा सुपारी सहकारी संस्था रहेका नेपाल केन्द्रीय सुपारी सहकारी सङ्घका अध्यक्ष लयप्रसाद भण्डारी बताउनुहुन्छ ।
सुपारी सहकारीले काँचो सुपारी प्रशोधन गर्न घरेलु कारखाना समेत सञ्चालन गरेका छन् । काँचो सुपारीलाई बोक्रैसँग भट्टिमा उसिन्ने र बोक्रा छोडाएर भित्री दानालाई घाममा सुकाउने परम्परागत प्रविधि बढी प्रचलित छ । मेसिनबाटै बोक्रा छोडाउने र फाला बनाउने आधुनिक प्रविधिसमेत भित्रिन थालेको छ । किसानले काँचो सुपारी प्रतिकिलो रु २८ सम्ममा प्रशोधन कारखानालाई बेच्ने गरेका छन् । प्रशोधन भएको सुपारी प्रतिकिलो रु ५०० सम्ममा बिक्री हुने गरेको नेपाल सुपारीखेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडा बताउनुहुन्छ ।
प्रशोधन कारखाना सञ्चालनमा आएपछि स्थानीयले बोक्रा छोडाउने र सुकाउने रोजगारी पाएका छन् । “प्रशोधन केन्द्र नहुँदासम्म काँचो सुपारी रु आठदेखि रु १२ सम्ममा बेच्ने गरेका थियौँ,” बुधबारेस्थित श्रीकृष्ण सुपारी सहकारी संस्थाका सचिव खिवनाथ गौतमले भन्नुभयो– ‘‘अहिले सहकारीले किसानलाई प्रतिकिलो रु २८ सम्ममा दिन थालेका छन्” जिल्लाका अधिकांश सहकारीले आफ्नै प्रशोधन केन्द्र सञ्चालन गरेका छन् ।
जिल्लामा प्रशोधित सुपारी भारत निर्यात हुँदै आएको छ । भारत सरकारले नेपालमा उत्पादित सुपारीलाई वार्षिक नौ हजार मेट्रिक टन भारत निकासी गर्न अनुमति दिएको बताइएको छ । सुपारी खेतीले विदेशी मुद्रा आर्जन हुने, व्यापार घाटा कम गर्न सहयोग पु¥याउने र अन्य बालीको तुलनामा बढी आम्दानी दिने भएकाले सरकारले यसकोखेती विकासका लागि किसानलाई सिँचाइ र प्रशोधनलगायतका विषयमा सहुलियत कर्जा दिनुपर्ने सुपारी खेतीमा लागेका किसानको भनाइ छ । रासस















प्रतिक्रिया