
– युवराज श्रेष्ठ
लमजुङ, २८ माघ । भूकम्पबाट पुर्ण रुपमा क्षतिग्रस्त लमजुङको पाचोकस्थित पाचोक माविको विद्यालय भवन ब्रिटिश वेयलफेयर सेन्टरले पुननिर्माण गरिदिएका छन् ।
नवनिर्मित भवनको आज एक समारोहकाबीच बेलायती राजदूत रिचार्ड मोरिसले उद्घाटन गरे । भवनको उद्घाटनमा पुगेका राजदूत रिचार्डलाई स्थानीय आमा समूह र विद्यार्थीले टिका, खादा र फूल मालाले स्वागत तथा सम्मान गरेका थिए ।

भवनको उद्घाटन पश्चात बोल्दै राजदूत रिचार्डले बेलायती सरकारको तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको बताए । स्थानीयबासीले देखाएको सम्मान देखेर दंग परेका राजदूत रिचार्डले बालबालिकाको सुन्दर भविश्यको कामना समेत गरे ।
सो अवसरमा बोल्दै जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माण गर्न सहयोग गरेको भन्दै बेलायत सरकारलाई धन्यवाद दिए । उनले विद्यालय भवन पुननिर्माणसँगै विद्यालयको शौक्षिक गुणस्तर उकास्न शिक्षक अभिभावकलाई आग्रह समेत गरेका छन् ।

आठवटा कोठा रहेको उक्त भवन बनाउन ९२ लाख रुपैयाँ खर्च भएको जनाईएको छ । भवन नहुँदा पुरानो विद्यालय भएको स्थान भन्दा माथी टहरा बनाएर पठन पाठन गरिएको विद्यालयका प्रध्यानाध्यापक नेकनाथ दवाडीले जानकारी दिए ।













प्रतिक्रिया