
काठमाडौं, २८ माघ । विहीबार राजधानीको भृकुटीमण्डपमा ठूलै कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमको समारोहमा देशका प्रधानमन्त्री प्रमुख अतिथि थिए । त्यो समारोह अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२औँ राष्ट्रिय महाधिवेशनको थियो । वक्ता थिए जम्मा ७ जना मात्रै । त्यसमध्येका एक थिए युवा संघ नेपालका अध्यक्ष राजीव पहारी । पहारीको सम्बोधनपछि प्रधानमन्त्री केपी शर्मा ओली बोलेका थिए । यद्यपी सुरुमै प्रधानमन्त्री ओलीले समारोहको उदघाटन गरेका थिए ।
एमालेका सम्पूर्ण जनवर्गीय संगठनको प्रतिनिधित्व गर्दै बोलेका युवा संघका अध्यक्ष पहारीले प्रधानमन्त्रीलाई सचेत गराउन तथा चेतावनी दिनमा समय खर्चिए । उनले प्रधानमन्त्री बसेको मञ्चबाटै सचेत गराउँदै भने– ‘प्रधानमन्त्रीज्यू तपाई भारत भ्रमणमा जाँदैहुनुहुन्छ । त्यो बेला कुनै राष्ट्रघाती सम्झौता नहोस् ।’
अध्यक्ष पहारीले अगाडि भने– ‘यदि तपाई राष्ट्रवादी नेता हो भने देश र जनताको हितमा रहेका यी तीन काम गरेर देखाउनुस् । जो तपाईको भारत भ्रमणसँग पनि जोडिएको छ । पहिलो भनेको भारत भएको १९५० लगायतका असमान सन्धि सम्झौता खारेज गरेर आउनुहोला । भारतीय प्रधानमन्त्रीसँग स्वाभिमानी राष्ट्र प्रमुखको हैसियतले ‘फेस टु फेस’ कुरा गर्नुहोला ।’

प्रधानमन्त्रीतिर औला ठड्याउँदै उनले भने– ‘दोस्रो भनेको नेपालमा २०१० देखि २०१३ सम्म अनियमित नागरिकताको छानविन गरेर देखाउनुस् । जसले राष्ट्रवादी र राष्ट्रघातिको रेखा छुट्याउने छ । त्यसैगरी तपाईले भारतको ग्राम पञ्चायत चुनाव हारेर नेपालमा सांसदमा बनेका नेताको पद खारेज गरेर जेल हाल्नुपर्छ । यो हाम्रो मात्रै होइन् सिंगो राष्ट्रवादी नेपाली जनताको माग हो ।’
उनले युवा संघका राष्ट्रियताका जस्तोसुकै लडाइँ लड्न तयार रहेको स्मरण गर्दै भ्रमणका नाममा राष्ट्रमाथि ‘गद्दारी’ नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिए । उनको भाषणलाई प्रधानमन्त्री गम्भीरताका साथ सुनिरहेको देखिन्थे ।
त्यसपछि भावुक बनेका पहारीले एउटा राष्ट्रिय कविता पनि उच्चारण गरे ।
‘चुलिन्छ कहाँ उचाई हाम्रो हिमालै नरहे ।
रहौला कहाँ नेपाली हामी नेपालै नरहे ।।’
‘हामी युवाहरु आगो सहन्छौं अन्याय सहन्नौ ।
बरु शिर उडाओस् त्यो सहन्छौं तर, कुनै बैदेशिक हस्तक्षेप सहन्नौं
हामी विर बलभद्र र भक्ती थापाका सन्तती हौं ।।’

अन्तिममा अनेरास्ववियुको महाधिवेशनबारे बोल्दै पहारीले नेकपा एमालेमा नेताहरुबीच एकता आवश्यक रहेको बताए । उनले भने- ‘गुट अन्त्य गर्दै सर्वसम्मत ढंगबाट नेतृत्व चयन गर्नु म नेताहरुलाई आग्रह गर्दछु । अहिले अवस्था एकता अपरीहार्य छ ।’
उनले शैक्षिक क्षेत्रभित्र विकराल रुपमा रहेको व्यापारीकरण माफियाकरणलाई अन्त्य गरी प्राज्ञिक तथा वैज्ञानिक शिक्षामा भुमिका खेल्न अनेरास्ववियुलाई सुझाव दिए ।

















प्रतिक्रिया