१ कार्तिक २०८३, शनिबार

द्वन्द्वविहीन तर दु:खान्त ‘प्रेम गीत’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prem_Geet_wide__poster_9

– दीपेन्द्र सापकोटा 
काठमाडौँ, २८ माघ । बुधबार नेपाली काँग्रेका सभापति सुशील कोइरालाको अन्तिम बिदाइ सकेर ‘मूड फ्रेस’ गर्न साँझ जय नेपाल चलचित्र घर पुगेका चलचित्रप्रेमी झन् भावविह्वल हुन पुगे ।

कारण यो थियो कि उनीहरुले ‘पशुपति प्रसाद’पछि फेरि अर्को दुःखान्त कथा भएको चलचित्र हेर्नुप¥यो । चलचित्र ‘प्रेमगीत’को प्रदर्शन भएको उक्त अवसरमा चलचित्रकर्मी, पत्रकार तथा अन्य अथितिको बाक्लो उपस्थिति थियो ।

प्रदर्शन अघि नै गीतसङ्गीतका कारण चर्चामा रहेको यो चलचित्र हेर्न पुगेका प्रायः दर्शकको एउटै आवाज थियो, “चलचित्रमा करिब ९९ प्रतिशत हाँसो र मनोरञ्जन थियो तर अन्तिम एउटा दृश्यले भावुक बनायो ।”

हुन त युवा निर्देशक सुदर्शन थापाले ‘प्रेम गीत’ युवापुस्तालाई नै लक्ष्यित गर्दै बनाउनुभएको हो । चलचित्र प्रेम दिवस (भ्यालेन्टाइन डे)मा यो ‘रिलिज’ हुनेछ । ‘मेरो एउटा साथी छ’ पछि निर्देशक थापाले ‘प्रेम कथा’ विषय भएको चलचित्र निर्देशनमा पुनः हात हाल्नुभएको हो । सम्भवतः प्रेम दिवसका बेला जोडी लिएर चलचित्र हेर्न गएका दर्शकले हाँसोसँगै आँशुसमेत झार्नेछन् ।

चलचित्रको कथा यस्तो छ – सानैमा बाबु गुमाएको पोखराको ‘प्रेम’ र आमा गुमाएकी काठमाडौँकी ‘गीत’को दुवैलाई परिवारले बिहेको दबाब दिन्छन् । प्रेमको परिवारमा आमा मात्र हुन्छिन् भने गीतको परिवारमा हजुरआमा र बुबा हुन्छन् । यी दुवै परिवार चाहन्छन् आफ्ना एक मात्र सन्तानले घर नजिकैको चिनजानकैसँग विहे गरुँन् । एउटै समस्या परेका प्रेम र गीत अपचिरित हुन्छन् । बिहेको दबाब झेल्न नसकेर भागेका उनीहरुको संयोगवश मुक्तिनाथ जाने क्रममा भेट हुन्छ । ‘इनोसेन्ट’ स्वभावका प्रेम र ‘बोल्ड’ स्वाभावकी गीतबीच नजानिँदो रुपमा प्रेम सम्बन्ध हुर्कन्छ । तर यो खुलाउन नचाहेका उनीहरुले परिवारलाई बिहे गरेको देखाउन मुक्तिनाथ मन्दिरमा नक्कली विहे गर्छन् ।

पछि त्यही नक्कली बिहेले नाटकीय मोड लिँदै दुई परिवारबीच मनमुटाव सुरु हुन्छ । तर त्यतिबेलासम्म प्रेम र गीतबीच गाढा प्रेम बसिकेको हुन्छ । दुई परिवारबीच भएको मनमुटावले ठूलो रुप लिएर एकअर्का अलग हुनुपर्ने अवस्था आएपछि कागवेनीको भिरमा गीतले आत्महत्या गर्छिन् । त्यो सहन नसकेको प्रेमले पनि उनको पदचिह्न पछ्याउँछ ।

कथा सामान्य पारिवारिक विषय भए पनि निर्देशकीय क्षमता, गीत–सङ्गीत, छायाङ्कन र अभिनयको हिसाबले अब्बल छ । ‘प्रेम’ को भूमिकामा देखिएका नायक प्रदीप खड्काले सबैको मन जितेका छन् । खड्का चलचित्र क्षेत्रमा सम्भावित नायकको रुपमा उदाउने पक्का देखिएको छ । चलचित्र हेर्न पुगेकी कलाकार दीपाश्री निरौलाले भन्नुभयो, “प्रदीपको अभिनय जीवन्त छ ।” त्यस्तै ‘गीत’को चरित्रमा देखिएकी पूजा शर्माको अभिनय पनि तारिफ योग्य छ । चलचित्रमा सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी आदि कलाकारको अभिनय पनि प्रशंसनीय छ । चलचित्रको सबैभन्दा सबल पक्ष यसको एउटा पनि अनावश्यक मसलादार द्वन्द्वको दृश्य छैन । साँच्चै भन्नुपर्दा यो चलचित्रमा खतरनाक खलनायक छैनन् । तर लक्ष्मी गिरी र राजाराम पौडेलले निभाएको चरित्र केही नकारात्मक भए पनि पूरै खलनायकीय छैन ।

राजेश श्रेष्ठद्वारा गरिएको चलचित्रको दृश्याङ्कनले जोमसोम, कागवेनीलगायत मनोरम दृश्यलाई कैद गर्न भ्याएको छ । सङ्गीतकार अर्जुन पोखरेलले सङ्गीत सिर्जनामा मेहनत गर्न कन्जुस्याइँ गर्नुभएको छैन । चलचित्रलाई निर्माता सन्तोष सेनले दिल खोलेर लगानी गरेकाले चलचित्र राम्रो बनेको चलचित्र समीक्षकको भनाइ छ । रासस