१४ कार्तिक २०८३, शनिबार

विश्वका पन्ध्र पवित्र तीर्थस्थलमध्येको एक नेपालमा, कहाँ छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahotari

– ध्रुव प्रसाद शर्मा
बेनी (म्याग्दी), २८ माघ । हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एकवटा तीर्थस्थल म्याग्दीमा रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नं ११ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलका रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएपनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको छ ।

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थलमध्ये एक मानिन्छ । श्रीमद्भागवत महापुराणमा कुरूक्षेत्र, गया, प्रयाग, पुलस्त्यपुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीतारामाश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलका रुपमा उल्लेख गरिएको छ ।

पुराणप्रसिद्ध तीन ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ । पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको थियो । रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रम नै भएको पुराणमा उल्लेख गरिएको छ । पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’ लाई विवाह गरी कालान्तरमा लङ्काको राजा भएको पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको इतिहासविद् कृष्णवहादुर बानियाँले बताउनुभएको छ ।

श्रीमद्भागवतजस्तो विश्वप्रसिद्ध पुराणमा उल्लेख गरिएको यस्तो विश्वकै अति पवित्र तीर्थस्थलमध्येको एक तीर्थस्थल म्याग्दीमा रहनु म्याग्दीका लागि सौभाग्य भएको र यसको समुचित रुपमा विकास गर्ने हो भने म्याग्दीले प्रशस्तै आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको बानियाँले बताउनुभयो ।

बानियाँका अनुसार पुलहाश्रमलाई ऋषिआश्रमका रूपमा विकास गर्ने, रावणको नाभी गाडेको भनिएको ठाउँमा ‘रावण कुटी’ बनाउने, रावण खेलेको भनिएको ‘राउन्नेको पाटो’ लाई रावण पार्कमा रूपान्तरण गर्ने, बेनी–पछै केबुलकार बनाउने, पुलस्त्यपुलहाश्रम क्षेत्र (साविक पुला, घतान, अर्थुङ्गे, पात्लेखेत, झीं, पाखापानी, सिंगा, कुहुं, ज्यामरूककोट, भकिम्ली, मल्लाज आदिलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी भारत, नेपाल र श्रीलङ्कामा प्रचारप्रसार गर्ने हो भने पर्यटकको आकर्षक केन्द्र बन्न सक्ने सम्भावना रहेको छ ।

त्यसैगरी, जिगन्नाथ, टोड्के, कपिलाश्रम, मालिका, गलेश्वर, रिखार, तातोपानीसमेतलाई एकीकृत रूपमा पर्यटकीय क्षेत्र घोषणा गरी प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने हो भने म्याग्दीको सेरोफेरो आकर्षक धार्मिक पर्यटकीयस्थल बन्न सक्ने सम्भावना देखिएको बानियाँले बताउनुभएको छ । रासस