
चितवन, २७ माघ । जल्ला वन कार्यालयले वन क्षेत्रमा भएको अतिक्रमणको तथ्याङ्क सङ्कलन थालेको छ ।
जिल्लामा एक हजार ३०० हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ । यहाँ कुल दुई लाख १८ हजार हेक्टर क्षेत्रफलमध्ये एक लाख २८ हजार ५०० हेक्टर वन क्षेत्र छ । चितवन राष्ट्रिय निकुञ्जले ८३ हजार ५०० हेक्टर तथा जिल्ला वनले ४५ हजार हेक्टर क्षेत्रफल हेर्दै आएका छन् । जिल्ला वन अधिकृत गणेश रायकाअनुसार पछिल्लो पटक अतिक्रमण भएको क्षेत्रको जिपिएस प्रयोग गरेर तथ्याङ्क सङ्कलन थालिएको छ ।
“एक महिनाभित्रमा प्रतिवेदन आउँछ” उहाँले भन्नुभयो । जिल्लामा पुराना अतिक्रमण जहाँ पक्की घर, बिजुली, पानी, सडकलगायत भौतिक संरचना बनिसकेका छन् । त्यस्तै खेतको आली फराकिलो गर्दै वन अतिक्रमण गरेको अवस्था छ । वन्यजन्तुको बासस्थान रहेको क्षेत्र समेत अतिक्रमणमा परेको छ । धार्मिक, सांस्कृतिक, मठमन्दिर, सामुदायिक भवन, क्याम्पस, चिहानजस्ता कामका लागि पनि वन अतिक्रमण भएको अधिकृत रायले बताउनुभयो ।
त्यसैगरी प्रहरी चौकी, सेनाको ब्यारेक, प्राथमिक स्वास्थ्य चौकी, सडक, नहर, विद्युत्लगायतका लागि समेत वन क्षेत्र अतिक्रमण भएको छ । जिल्लामा मुख्य रुपमा बाढीबाट प्रभावितलाई वन क्षेत्रमा राखिएको पाइएको छ । नारायणी र राप्ती नदीले कटान गरेका कारण विस्थापित भएकालाई जिल्लाका विभिन्न वन क्षेत्रमा राखिएको छ । संसदको वातावरण समितिले वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ अनुसार अतिक्रमित क्षेत्रको नियन्त्रणका लागि पहल थालेसँगै देशव्यापी रुपमा अतिक्रमित क्षेत्रको तथ्याङ्क सङ्कलनलाई जोड दिइएको छ । रासस















प्रतिक्रिया