काठमाडौँ, २४ माघ । पेट्रोलियम पदार्थको कालोबजारी गरिरहेका दुई जनालाई ठूलो परिणाममा डिजेल र पेट्रोलसहित प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
बूढानिलकण्ठ नगरपालिकाको साततल्ले भन्ने स्थानबाट दुई हजार ९५० लिटर डिजेल र १०० लिटर पेट्रोलसहित ओखलढुङ्गा जिल्ला कुन्तादेवी गाविस घर भई काठमाडौँ सरस्वतीनगर बस्ने प्रकाश सापकोटा र सोही जिल्लामा घर भई बूढानिलकण्ठ बस्दै आएका शङ्कर गिरीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको बताइएको छ ।
ठूलो परिणाममा डिजेल र पेट्रोल भण्डारण गरिराखी नेपाल सरकारले तोकेको दररेटभन्दा बढी मूल्यमा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । रासस












प्रतिक्रिया