
उदयपुर, २४ माघ । सरकारी निकायबाट साथसहयोग नपाएपछि उदयपुरको सदरमुकाम गाईघाटलाई छोएर वग्ने त्रियुगा नदी किनारामा चन्दा उठाएर मलामी विश्राम घर निर्माण गरिएको छ ।
अव्यवस्थित आर्यघाटलाई व्यवस्थित गर्न स्थानीयले चन्दा उठाएर विश्राम घर निर्माण गरेका हुन् । निश्चित ठाउँ र व्यवस्थित आर्यघाट नहुँदा स्थानीयले जथाभावि लास जलाउन थालेपछि श्रीमद् भागवत धर्म एवं भक्ति साधना त्रियुगा नगरपालिका–२ को उदेश्य अनुरुप आर्यघाट व्यवस्थापनका लागि पहिलोचरणमा मलामी विश्राम घर सुरु गरिएको हो ।
वढ्दो सहरीकरण र जनघनत्वसँगै जथाभावि लास जलाउँदा सदरमुकाम क्षेत्र दुर्गन्धित बन्दै गएपछि व्यवस्थापनका लागि स्थानीय जुटेका हुन् । स्थानीयले त्रियुगा नगरपालिका–३ र ७ लाई जोडने त्रियुगा नदीको साँढे तीन बिघा क्षेत्रफलको खाली जग्गालाई ओगटेर त्रियुगा शान्तिधामको नामाकारण गरी आर्यघाट निर्माण स्थल सुरु गरेका हुन् ।
वृहत्तर कार्ययोजना अनुरुप बसपार्क र त्रियुगा पुल मुनीको जग्गामा चन्दा संकलन गरी करिव चार लाखको लागतमा मलामी विश्राम घर निर्माण कार्य गरिएको हो । करिव तीन सय मलामी बस्न सक्ने उक्त भवन निर्माणका लागि वजेट व्यवस्थापनमा ढिलाई भएपछि स्थानीयले चन्दा संकलन गरेर निर्माण गरेका हुन् । शान्तिधामको नामाकरण गरिएको उक्त स्थलमा मलामी, क्रियापुत्रीमा सहज होस भन्ने हेतुलले सुबिधा सम्पन्न आर्यघाट निर्माणको तयारी गरिएको अध्यक्ष गिरीराज खतिवडाले जानकारी दिए ।
करिव बीस करोड लागत स्टिमेट रहेको उक्त शान्तिधाम भित्र सामुदायिक भवन, गुरुकुल पाठशाला, पुस्तकालय, महिला र पुरुष वृद्धाश्रम, संगितालय, वाहान विसाउने स्थल, पाञ्चायन मन्दिर, हवन स्थल, भान्सा घर निर्माण गरिने अध्यक्ष खतिवडाले बताए ।
त्यसैगरी गौशला, अलग अलग शौचालय, स्नान घर, सत्संग भवन, योगाभ्यास स्थल, मलामी विश्राम, दाउरा भण्डारण, भान्सा घर, स्मसानैश्वर महादेव मन्दिर, किरिया घर, पसल, होटललज, कार्यालय आदि रहने उनले जानकारी दिए । उदेश्य ठुलो भएपनि तत्कालका लागि वजेट अभावका कारण स्थानीय जनश्रमदान र चन्दा सहयोगबाट मलामी विश्राम घर निर्माण गरिएको उनले बताए । मलामी विश्राम घरसँगै सार्वजानिक शौचालय निर्माणका लागि लगानीकर्ताको खोजी भईरहेको खतिवडाले बताए । त्रियुगा नगर क्षेत्र खुल्लादिसा मुक्त क्षेत्र घोषणा भईसकेकाले शौचालय निर्माणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र त्रियुगा नगरपालिकालाई आग्रह गरिएको उनको भनाईछ ।
यसका साथै संस्थाको उदेश्य अनुरुप शान्तिधाम निर्माणका लागि वजेटको खोजी र पहिचान कार्य भई रहेको संस्थाका सल्लाहकार भागवत राउतले जानकारी दिए । उनले ठुलो योजना रहेकाले जिल्ला तहबाट मात्रै सम्भव नहुने भएकाले नेपाल सरकारसँग अनुरोध र अन्य दातृनिकायसँग छलफल, परामर्श भईरहेको बताए ।
राउतले मलामी विश्राम घर निर्माण लगत्तै खोलाको दुबै किनारामा करिव ५ सय मिटर तटबन्धन बाँध्ने योजना रहेको बताए । बाँध निर्माणपछि अन्य निर्माणका काम सुरु गरिने उनको भनाई छ । शान्तिधाम निर्माण कार्य गर्न सके पुर्वाञ्चलकै पहिलो सुबिधा सम्पन्न आर्यघाट हुने समितिको ठहर छ ।












प्रतिक्रिया