१ कार्तिक २०८३, आइतबार

ताल संरक्षणले बिपन्न परिवारको जिविकोपार्जनमा सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baake-simsar (1)

– विश्वराज पछल्डङ्ग्या
बिनौना (बाँके), २३ माघ ।

‘सिमसारैले हरियाली बढेको, त्यसैले त संरक्षण गरेको,
सिमसार बढाउन बिन्ति गर्छौँ दाजुभाई सवैलाई जोगाउन ।
हरियाली सिमसारै जोगाएर, खाली ठाउँमा विरुवा लाएर,
यो सन्देश सुनाउँछौँ, सवै मिली एकजुट भई सिमसार जोगाउँछौँ,
सिमसारले ताल, तलाउ बढेर आका छन्, जनावरले पानी पिउन पाएका छन् ।’

अधिकांश समय खेति किसानीमा ब्यस्त रहने बाँकेको बिनौना गाविसका बासिन्दा सिमसार क्षेत्रको संरक्षणमा जुटेका छन् । सामुदायिक बन भित्र पर्ने सिमसार क्षेत्रको संरक्षण गरि अति विपन्न परिवारको जिविकोपार्जनमा सहयोग गर्न बिनौनाका बासिन्दा सिमसार क्षेत्रको संरक्षणमा जुटेका हुन् ।

सामुदायिक बनभित्र रहेका सिमसार क्षेत्रको पहिचान गरी उनीहरुले ब्यवस्थित बनाउने अभियानलाई तिव्रता दिएका छन् । उनीहरुले हाल ३ वटा ताललाई ब्यवस्थित बनाइसकेका छन् । कन्यश्वरी सामुदायिक बन भित्रपर्ने प्राकृतिक रिहार तालको संरक्षण गरि माछा पालनका लागि अतिविपन्न परिवारलाई दिएका छन् ।

जलाधार संरक्षण, बन्यजन्तु र विपन्न परिवारको जिविकोपार्जनका लागि केयर नेपाल हरियो बन कार्यक्रमको सहयोगमा सिमसार क्षेत्रको संरक्षणमा लागेको कन्यश्वरी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बालकिसुन थारुले बताए ।

सिमसार क्षेत्रको संरक्षण गरेपछि बन्यजन्तुले पानी खान पाएको बताउँदै उनले माछा पालन गरेर विपन्न परिवारको जिविकोपार्जनमा समेत सहयोग मिलेको बताए । ‘प्रयोग विहिन ताल संरक्षण भएपछि जिविकोपार्जनमा मद्दत मिलेको छ भने जैविक विविधताको संरक्षण भएको छ,’ अध्यक्ष थारुले भने ।

Baake-simsar (2)
बिनौनास्थित रिहार ताल वरिपरी केरा रोप्दै स्थानीय र केय नेपाल हरियो बन कार्यक्रमका कर्मचारी ।

कन्यश्वरी सामुदायिक बनमा १५ कट्ठाका २ वटा ताल पुनर्निर्माण भइसकेको छ भने एउटा ताल केहि दिनमै निर्माण कार्य सुरु गरिने कन्यश्वरी सामुदायिक बनले जनाएको छ । ‘सिमसार क्षेत्रको पहिचान गरी क्षेत्र विस्तार गर्दै जाने योजना छ,’ उनले भने, ‘तलाउनमा पानी रोकिएपछि बन्यजन्तु पनि देखिन थालेका छन् ।’ पहिलेको दाँजोमा चराचुरुङ्गी पनि तलाउमा आउन थालेको कन्यश्वरी सामुदायिक वनले जनाएको छ ।

Baake-simsar (3)
बिनौनास्थित रिहार ताल नजिक देखिएको ताल चरा ।

बिनौनास्थित सिद्धेश्वरी सामुदायिक बन उपभोक्ता समितिले पनि सिमसार संरक्षण अभियान चलाएको छ । सामुदायिक बनभित्र पर्ने तालको संरक्षण गरी माछा पालन ब्यवसाय सञ्चालन गर्न विपन्न परिवारलाई प्रदान गरिएको अध्यक्ष जंग बहादुर गिरीले बताए । उनले सामुदायिक बन भित्र रहेका ताल संरक्षणले विपन्न परिवारको जिविकोपार्जनमा मद्दत मिलेको बताए । स्थानीयले २०७० सालदेखि ताल संरक्षण गर्न थालेपछि बन्यजन्तु र चराचुरुङ्गीलाई राहत पुगेको बताए । ‘५ जना विपन्न परिवारलाई बिना ब्याजमा ७८ हजार रुपैयाँ दिएर माछा पालन र केरा खेति गर्ने अवसर तालले दिएको छ,’ अध्यक्ष गिरीले भने ।

Baake-simsar (4)

बिनौना गाविसको ‘जुर पानी’ (चिसो पानी) बाँकेमा प्रख्यात भएपनि संरक्षण हुन नसक्दा सुकेको छ । जुर पानी जस्तै अन्य सिमसार क्षेत्रपनि सुक्न थालेपछि संरक्षण अभियानमा चासो देखाएका हुन् । आगामी दिनमा स्थानीले सिमसारको संरक्षण गरी पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका छन् । ‘सिमसार क्षेत्रको संरक्षण गरी पर्यटक भित्र्याउने र आर्थिक उपार्जनको माध्यम बनाउने योजनामा छौँ,’ स्थानीय अमनदैया थारुले भनिन् ।

स्थानीयले संरक्षण गरेका ताल र सिमसार क्षेत्रमा अजिङ्गर सर्प पाइने गरेका छन् । बिनौना गाविसमा भएका सिमसार क्षेत्रलाई अजिङ्गर सर्पको बासस्थानको रुपमा विकास गर्न सकिने थारुले बताइन् । ‘बाँके निकुञ्ज पाटे बाघ र एक सिङ्गाले चर्चित भए झैँ हामीले बिनौना गाविसका सिमसार क्षेत्रलाई अजिङ्गगर सर्पले चिनाउनु पर्छ भन्ने अभियानमा छौँ,’ थारुले भनिन् ।

बिनौना गाविसका बासिन्दाले जल, जङ्गल संरक्षणको सचेतना जगाउन गीत समेत तयार गरेका छन् । कन्यश्वरी सामुदायिक बन उपभोक्ता समितिका सदस्यले तयार पारेको गीतले भन्छ,

‘सुन्नुस है दिदी भाई, सुन्नुस है बासिन्दा, जल, जमिन जङ्गल हो राष्ट्रको सम्पदा ।
संरक्षण गरौँ है जङ्गलको, लोप हुँदै छ जनावर पंक्षिको ।
पंक्षि जस्तै कुहुकुहु कोइली कहाँ गए, पानी पिउँदै घुमी नाच्ने मयूर लोप भए ।
संरक्षण गरौँ है जङ्गलको, लोप हुँदै छ जनावर पंक्षिको ।’

सिमसार क्षेत्रको संरक्षणमा स्थानीयले अभियान थालेपछि केयर नेपाल हरियो बन कार्यक्रमले विनौनाका ३ वटा ताल पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग गरेको हरियो बन कार्यक्रमका फिल्ड कोर्डिनेटर सन्तोष चौधरीले जानकारी दिए ।