काठमाडौं, २३ माघ । झण्डै आधा वर्षदेखि जारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन अहिले आएर सिला खोज्नुपर्ने अवस्थामा पुगेको छ । केही जिल्लामा कांग्रेसको महाधिवेशनलाई बिथाल्न खोज्नुभन्दा अर्को कुनै पनि गतिविधि मधेसी मोर्चाले गर्न सकेको छैन ।
मधेसी मोर्चाले जहाँ पनि कार्यक्रम गरेको छ सबै निस्क्रिय सरह बनेका छन् । र कार्यकर्ता पनि आउन छाडेको आरोप छ ।
विगत ५ महिनादेखि बन्द रहेको वीरगञ्ज नाकाको धर्ना पनि शुक्रबार स्थानीय र भारतीय नागरिकहरु मिलेर खोलेपछि मधेसी मोर्चालाई पर्नु पीर परेको छ । यतिसम्मकी मधेसी मोर्चाले वीरगञ्ज नाकाफेरि बन्द गर्ने चेतावनी दिएको छ ।
तर शुक्रबार खुलेको वीरगञ्ज नाका अबरोध गर्न बोलाउँदा पनि स्थानीय कार्यकर्ता नआएपछि मधेसी मोर्चाका नेताहरु चकित परेका छन् ।
यता, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सकिन्छ भने सबै नाका बन्द गरौँ होइन भने वीरगञ्ज नाका मात्रै बन्द हुँदैन खोलौँ भनेर अभिव्यक्ति दिएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आगो बनेका छन् ।
स्रोतका अनुसार मधेसी मोर्चाको बैठकमा आन्तरिक छलफलपछि मात्रै गम्भीर विषयमा अभिव्यक्ति दिनुपर्नेमा महतोले नाका खोल्न मिडियाबाट गरेको प्रस्तावको उपेन्द्रले विरोध गरेका हुन् ।
सोही कारण मधेसी मोर्चाको बैठक बस्ने हो कि नबस्ने हो अन्यौलमा छ । यद्यपि दोस्रो तहका नेताहरु मधेसी मोर्चाको बैठक बसालेर आन्दोलनलाई व्यवस्थित रुपमा अगाडि बढाउन चाहन्छन् ।
उता, चार राजनीतिक शक्तिका दोस्रो तहका नेताहरु रहेको कार्यदलको बैठक पनि बस्न सकेको छैन । बैठकका लागि मधेसी मोर्चाका नेताहरु राजधानीमा छन् । तर बैठकका लागि बोलाइएको छैन ।
तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले सम्वाद र सहमतिबाटै मुलुकलाई निकास दिनुपर्ने भन्दै कार्यदल र शीर्ष तहमा वार्ता गरी ठोस सहमति गर्नुपर्ने बताउनु भयो ।












प्रतिक्रिया