१ कार्तिक २०८३, शनिबार

मृदुलालाई जिताउन सुशीलले के-के गर्नसम्म भ्याए छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मृदुला कोइराला
मृदुला कोइराला

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसको शुक्रबारको क्षेत्रीय महाधिवेशनबाट सभापति सुशील कोइरालाकी प्रिय सहयोगी मृदुला कोइरालाले जित हासिल गरेकी छिन् । सभापति कोइरालाले अत्यन्तै विश्वास गर्ने र कुनै पनि निर्णय गर्नुअघि मृदुलासँग सोधेर मात्रै निर्णय गर्ने गरेको आरोप छ ।

नेपाली मुलकी अमेरिकी नागरिक मृदुलाले मोरङ क्षेत्र नम्बर पाँचबाट शुक्रबार महाधिवेशन प्रतिनिधिमा विजयी हासिल गरेकी हुन् । मृदुला सुशील कोइरालाको क्याम्पबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी थिइन् । उनलाई जसरी पनि विजयी गराउन महाराजगञ्ज बसेका सुशीलले मोरङ कांग्रेसका जिल्ला सभापतिलाई कडा निर्देशन दिएको स्रोतले जनाएको छ ।

मृदुलालाई जिताउन सभापति कोइरालाले स्थानीय प्रशासनलाई पनि आग्रह गरेको वरिष्ठ नेता शेरबहादुर देउवाका एक स्थानीय नेताले बताए । ‘सभापति ज्यूले मृदुलालाई जिताउनु भनेर स्थानीय प्रशासनका प्रमुखहरुलाईसमेत भनेका रहेछन्’, नाम उल्लेख नगर्ने सर्तमा मोरङका ती नेताले भने, ‘जिल्ला सभापतिलाई पनि मृदुलाले महाधिवेशन प्रतिनिधिमा हारे राम्रो हुँदैन भनेर चेतावनी दिएका रहेछन् ।’

आगामी १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने दाउ छोपेर बसेकी मृदुलाले सुशीललाई सभापतिको उम्मेदवार बन्नु पर्ने भनेर दबाव दिँदै आएकी छिन् । उनकै दबावमा वृद्ध सुशील सभापतिमा उम्मेदवारी दिने मुढमा छन् ।

पति र छोराछोरीसहितका सन्तानलाई अमेरिकामा राखेर सभापति कोइरालासँग महाराजगञ्जमा अड्डा जमाएर बसेकी मृदुलाका कारण कांग्रेस नेता तथा कार्यकर्ता पीडित बनेको गुनासो छ । उनै मृदुलाले सभापति कोइरालाका पुराना सहयोगी लक्ष्मण ढकाललाई महाराजगञ्जबाट लखेटेकी हुन् । लक्ष्मणलाई हटाएर कोइरालालाई आफ्नो गुटमा राखेकी मृदुलाले कोइराला परिवारका अन्य सदस्यहरुलाई पनि महारागञ्जमा प्रवेशका लागि धेरै प्रयास गर्ने गरेको आरोप छ ।

सागर खनाल
सागर खनाल

यसैबीच, कोइरालाका अर्का सहयोगी सागर खनालले काठमाडौं क्षेत्र नम्बर पाँच बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । उनलाई केन्द्रीय सदस्य नरहरि आचार्यले जिताएका हुन् । नरहरिका आफन्त पर्ने सागरलाई उनैले सुशीलको गतिविधिमा निगरानी राख्न राजनीतिक सल्लाहकारका रुपमा पठाएका हुन् ।

उता, सभापति कोइरालाका पूर्व सहयोगी लक्षमण ढकालले बुथबाटै पराजित भएका छन् । मृदुला कोइरालासहितको टिमले गलहत्याएपछि पीडित बनेका लक्ष्मणले गृह जिल्ला मोरङमा समर्थक पनि नपाएर हारेका हुन् ।

सुशील कोइरालालाई देखाइदिन्छु भन्दै महाराजगञ्जबाट बाहिरिएका लक्ष्मण ढकाल गाउँ कमिटीमै पराजित भएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिनको सपना मोरङतिरै चकनाचुर भएको छ ।