काठमाडौं, २३ माघ ।
एमाओवादीले नपठाउने
कोरिया जाने टोलीमा एमाओवादी प्रमुख सचेतक हितराज पाण्डेसहित ३ सांसद थिए । धर्म प्रचारको कार्यक्रम भएको खुलेपछि एमाओवादीले आफ्ना सांसदलाई रोकेको छ । ‘अन्य पार्टीका सांसदहरू के गर्छन् थाहा छैन, हाम्रा सांसद भने अब जाादैनन्,’ अध्यक्ष प्रचण्डको सचिवालयका सदस्य प्रकाश दाहालले भने । पाण्डेले पनि पार्टीको निर्णय शिरोधार्य गर्ने बताएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
राप्रपा नेपालले रोक्ने क्रिस्चियन धर्मको प्रवद्र्धन कार्यक्रममा कोरिया जान तयार आफ्नी सांसद वविना मोक्तानलाई भ्रमण अुनमति दिने–नदिनेबारे राप्रपा नेपालले आइतबार निर्णय गर्दै छ । ‘पार्टीले लिँदै आएको हिन्दू धर्मको एजेन्डाविरुद्धको कार्यक्रम रहेछ, अब वविनाजी पनि सायद जानुहुन्न, पार्टीले अनुमति दिँदैन,’ राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले भने, ‘अध्यक्षसहित आइतबार बसेर निर्णय लिन्छौँ ।’
पादरी आउने, चर्च घुम्ने भनेपछि जान्न भनेँ
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी
शान्तिमन्त्री एकनाथ ढकालले फोन गरेर ‘प्रमुख चार दलका सचेतकसहित सांसदहरूलाई कोरियाको सियोलमा एउटा कार्यक्रममा लैजाने सोच्दै छु, तपाईंको नाम पनि राखेको छु है’ भनेका थिए । मैले कार्यक्रमबारे सोध्दा ‘पिस सम्मेलन छ, विश्वका विभिन्न देशका भिआइपीहरू सहभागी हुन्छन्, पादरीहरू पनि आउँछन्, त्यहाँका चर्चहरू पनि घुम्ने’ बताए । त्यसपछि मैले नजाने बताएँ । तपाईंहरूले समाचार लेखिदिनुभयो, झन्डै म फसिनछु, धन्न बचेँ ।
कतिपय सांसद अन्योलमा
शान्तिमन्त्री एकनाथ ढकालको एनजिओको व्यवस्थापनमा कोरिया जाने सांसदसहित २२ जनाको भ्रमण प्रस्ताव मुख्यसचिवले मन्त्रिपरिषद्मा लैजान नमाने पनि केही सांसदहरू अझै पनि जान खोज्दै छन् । मुख्यसचिवले नमानेपछि ढकालले आफ्नो भ्रमणको ठाडो प्रस्ताव लगेका थिए, त्यसलाई पनि मन्त्रिपरिषद्ले अस्वीकृत गरेको थियो । तर, क्रिश्चियन धर्म प्रवद्र्धन कार्यक्रममा मन्त्री मात्र होइन, केही सांसद्ले नगई छाड्दैनौा भन्न थालेका छन् ।
अन्य दलमा अन्यौल
कोरिया जाने टोलीमा एमाओवादी र राप्रपा नेपालसँगै काग्रेसका ३, एमालेका प्रमुख सेचतकसहित ५, संघीय समाजवादी फोरमका २, जनमोचा, नेकपा संयुक्त, राप्रपा र मालेका एक/एक सांसद छन् । त्यस्तै, परिवार दलका तर्फबाट मन्त्री ढकाल र अर्का एक सांसद तथा संसद सचिवालयका एक सहसचिव पनि टोलीमा छन् । मन्त्री ढकालले जाने–आउने, बस्ने, खाने, घुम्ने खर्चबाहेक दैनिक दुईदेखि तीन सय डलर भत्ताको प्रलोभन सांसदहरूलाई दिएका छन् । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जाने/नजाने विषयमा २८ माघमै थाहा हुने बताए । ‘तपाईहरूको जे अभियान हो, त्यही चाल्नुहोस् । हामी के गछौं, २८ गते नै थाहा लाग्छ,’ उनले भने । संघीय समाजवादी फोरमका नेता डिलबहादुर नेपालीले पनि कोरिया जाने बताए । ‘२८ माघमा जाने र त्यसै अनुसार तयारी गर्न भनिएको छ,’ उनले भने, ‘समयको जानकारी पछि हुन्छ भनिएको छ, अहिलेसम्म टिकट, पासपोर्टलगायतका डकुमेन्ट भने हात लागेको छैन् ।’
कसले रोक्न सक्छ, हेरौँ ?
कोरिया जाने सांसदहरूको व्यवस्थापनको जिम्मेवारी पाएकी परिवार दलकी सांसद मिलनकुमारी राजवंशीले भ्रमण नरोकिने बताइन् । ‘हाम्रो मिसन रोकिँदैन, त्यसलाई कसैले रोक्न सक्दैन । हामी किन नजाने ? जसरी पनि जान्र्छौँ,’ उनले भनिन् । भ्रमणको समाचार लेखेर पत्रिकाले सांसदहरूको मानहानि गरेको दाबी राजवंशीले गरिन् । ‘भ्रमणमा जाने कुरा गोप्य राखिएको थियो । तपाईंहरूले समाचार लेखेर इज्जत–बेइज्जतको ख्याल नगरी संसदहरूको मानहानि गर्नुभयो । हामी जहाँसुकै जाऔँ, तपाईं पत्रकारहरूलाई के मतलब ? हामी जान्छौँ, कसले रोक्न सक्छ, हेरौँ ?’ उनले भनिन् ।















प्रतिक्रिया