काठमाडौं, २३ माघ । गुवाहाटीमा शुक्रबारदेखि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग)को १२औँ संस्करणको प्रचारप्रसार अन्तर्राष्ट्रिय प्रचलनविपरीत वरिष्ठ नेताहरूको फोटो राखेर गरिएको छ ।
सहरका विभिन्न स्थानमा राखिएको होर्डिङबोर्ड र फ्लेक्समा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर देखिन्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यस्तै, आसामका मुख्यमन्त्री तरुण गोगी, आयोजक प्रमुख सर्वानन्द सोनोवाल, भारतीय ओलम्पिक कमिटीका अध्यक्ष आर रामचन्द्रन र महासचिव राजीव मेहताको फोटो भएका होर्डिङबोर्ड र फ्लेक्स राखिएका छन् ।
सागको भव्य उद्घाटन
भारतले तेस्रोपटक आयोजना गरेको सागको भव्य उद्घाटन गरेको छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा १५ हजार दर्शकलाई मनोरञ्जन दिन विश्वस्तरीय संगीत सामग्री र ३६ प्रोजेक्टर लगाइएको थियो । यसअघि भारतले सन् १९८७ मा कोलकाता र १९९३ मा चेन्नईमा सागको आयोजना गरेको थियो ।
एक अर्ब ५० करोड बजेट
तीनपटकको स्थगनपछि भारतले गुवाहाटी र सिलोङमा सागको आयोजना गरेको हो । प्रतियोगिता सम्पन्न गर्न केन्द्र सरकारले एक अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, सुरक्षाका लागि आसामलाई ६० र सिलोङलाई सात करोड बजेट पठाएको स्थानीय पत्रिकाहरूले जनाएका छन् ।
५० रेजिमेन्टले सुरक्षा दिँदै
११ दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण सुरक्षा व्यवस्थाको जिम्मा भारतीय सेनाले लिएको छ । सेनाको ५० रेजिमेन्टका जवानहरूले गुवाहाटी र सिलोडमा सुरक्षा दिइरहेका छन् । अर्धसैनिक बल पनि परिचालन गरेको आयोजकले जनाएको छ । आयोजनास्थलमा करिब दुई हजार सिसिटिभी राखिएका छन् ।
नेपाली टोलीको फरक तथ्यांक
१२ सागमा नेपालको सहभागी संख्या कति हो भन्ने अझै स्पष्ट छैन । नेपाल ओलम्पिक कमिटीले नेपाली टोली पाँच सय २२ सदस्यीय हुने जनाएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले पाँच सय ३७ सदस्यीय हुने बताएको छ । यता, आयोजक कमिटीसँग भएको तथ्यांकअनुसार नेपाली टोली संख्या चार सय ८५ रहेको छ ।















प्रतिक्रिया