२४ कार्तिक २०८३, मंगलबार

वीरगञ्ज नाका खुलेपछि मधेसी मोर्चा विवादमा फस्यो, नेताहरुबीच कडा टक्कर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madesi-morcha-638x330

काठमाडौँ, २२ माघ । पाँच महिनादेखि बन्द रहेको देशकै प्रमुख वीरगञ्ज नाका खुलेपछि आन्दोलनको नेतृत्व गरिरहेको मधेसी मोर्चा विवादमा फसेको छ ।

मोर्चाका नेताहरु बीच विचारमा कडा टक्कर परेको छ । केही नेता नाका खोल्ने पक्षमा देखिएका छन् भने केही नेता कुनै हालतमा खोल्न नहुने पक्षमा देखिएका छन् ।

यसैक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अन्य नाका खोलेर वीरगन्ज मात्र बन्द गर्दा तस्करी र कालाबजारिया बढेकाले छिटो नाका सहज बनाइनुपर्ने बताउनुभएको छ ।

पाँच महिनासम्मको वीरगन्ज नाकाबन्दीका बेला त्यहाँको मोर्चा सम्हाल्नुभएका नेता महतोले आज विराटनगरबाट पत्रकारहरुसँग कुरा गर्दै तस्करी र कालाबजारिया रोक्न पनि सबै नाका खुला गरिनुपर्नेमा जोड दिनुभयो । “अहिलेको आन्दोलनको स्वरुपबाट जनताले दुःख पाए, कि त सबै नाका बन्द गरौँ, होइन भने वीरगन्ज पनि खोलौँ भन्ने प्रस्ताव मोर्चाको अब बस्ने बैठकमा राख्नेछु, अब आन्दोलनसम्बन्धी ठोस निर्णय हुनुपर्छ भन्ने प्रस्ताव म बैठकमा लैजान्छु”–नेता महतोले भन्नुभयो ।

पाँच महिनासम्मको नाकाबन्दीले काठमाडौँलाई दबाब दिन नसकेकाले आन्दोलनको स्वरुप फेरिनुपर्नेमा उहाँको जोड थियो । नाकाबन्दीको आन्दोलनले मुलुकको अर्थ व्यवस्था बिग्रेकाले पनि स्वरुप फेर्ने प्रस्ताव गर्न लागिएको महतोको भनाइ थियो । मोर्चाको बैठक शनिबार बस्न सक्ने बताइएको छ ।

यता मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने नाका खोल्ने विषयमा जानकारी नभएको प्रतिक्रिया दिनुभयो । “मोर्चाले वीरगन्ज नाका खोल्ने विषय हल्ला मात्र हो, यसबारे कुनै निर्णय भएको छैन, सञ्चारमाध्यममा आएको हल्लाले नाका खुल्दैन”–उहाँले भन्नुभयो ।

तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले मोर्चाका शीर्ष नेता काठमाडौँ आएपछि बैठक बसेर ठोस निर्णय लिइने बताउनुभयो । मोर्चाका नेता महतोको अभिव्यक्तिलगत्तै पाँच महिनादेखि बन्द वीरगन्ज नाका आज थप खुकुलो भएको बताइएको छ । महतो बाहेक मोर्चाका सबै शीर्ष नेता काठमाडौँ आइपुग्नुभएको छ । नेता महतो पनि आज रातिसम्म काठमाडौँ आइपुग्नुहुनेछ । रासस