
काठमाडौँ, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १२ को भूकम्पबाट भत्किएका संरचनाहरुको नवनिर्माण तथा पुनःनिर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुुभएको छ ।
नेपाल व्यवस्थापन सङ्घको ३५ औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटनपछि आज यहाँ सम्बोधन गर्दै राष्टपतिले सर्वसाधारण नागरिकका घर, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, शैक्षिक तथा प्राज्ञिक क्षेत्रका संरचनाहरु र महत्वपूर्ण प्रशासनिक भवनको निर्माण छिटो गर्नुपर्ने बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले भन्ुनुभयो, “मुलुकमा पुनःनिर्माण र नवनिर्माणको महाअभियानको थालनी भएसकेको अवस्थामा यसलाई सफल पार्नु सबैको दायित्व हो, त्यसका लागि राष्ट्रिय मेलमिलाप र एकताको खाँचो पर्दछ ।”
कुशल व्यवस्थापनबाट नै सीमित स्रोत साधनको परिचालन गरी निर्धारित अवधिमा सामाजिक विकास तथा आर्थिक रुपान्तरण गर्न सकिने भएकाले आधुनिक व्यवस्थापनको अवधारणालाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।
राष्ट्रपतिले भन्नुभयो, “द्वन्द्व, राजनीतिक सङ्क्रमणकाल र वैशाख १२ गतेको विनासकारी भूकम्पको कारणले मुलुकको समग्र आर्थिक विकासमा गम्भीर क्षति पुगेकाले थुप्रै पुनःनिर्माण र नवनिर्माणसहित आर्थिक सामाजिक विकास हुन आवश्यक छ ।”
राष्ट्रपति भण्डारीले व्यवस्थापनका सिद्धान्त र यसका नवीन प्रविधिको जानकारी तथा तीनको उष्कृष्ठ प्रयोगबाट दक्षता हासिल हुने एवम् उत्कृष्ट व्यवस्थापकबाट मुलुकको मुहार फेर्ने सपना पूरा हुने भएकाले नवःनिर्माणमा व्यवस्थापन क्षेत्रको महत्वपूर्ण योगदान रहने बताउनुभयो ।
साधारणसभा तथा अधिवेशनका अवसरमा उत्कृष्ठ व्यवस्थापकलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले पुरस्कृत व्यवस्थापकको क्षमता मुलुकको आर्थिक, सामाजिक एवम् नवःनिर्माण महाअभियानका निम्ति प्रयोग हुन सकोस् भन्ने कामनासमेत गर्नुभयो ।
सो अवसरमा राष्ट्रपतिले सन् २०१५ मा उत्कृष्ट व्यवस्थापक महिला उद्यमी श्रीमती अन्जु शाह सिंह, बैंकर ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, समाजसेवी तीलबहादुर कार्की, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई सम्मान गर्नुभयो ।
प्राडा सुरेशराज आचार्यले नेपालको पुनःनिर्माण तथा नवनिर्माणसम्बन्धी अवधारणापत्र प्रस्तुत गर्दै यसमा विशवका अन्य देशहरुको अनुभवलाई हेरी दिगो सोच राखेर यातायात र पूर्वाधार निर्माण गर्न सकिएमा मात्र मुलुकको सम्बृद्धि हुनसक्ने धारणा राख्नुभयो ।
अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको कार्यलाई अभियानका रुपमा अगाडि बढाइएको जानकारी दिँदै यस अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका पूर्व उपकूलपति डा सुरेशराज शर्माले नेपालले पटकपटक प्राकृतिक विपद्का चुनौतीहरु सामना गर्दै आएको भएपनि त्यसबाट कसरी बच्ने र व्यवस्थित संरचनाहरुको निर्माणमा ध्यान दिन नसकेको बताउनुभयो ।
कार्यक्रममा व्यवस्थापन सङ्घका प्रथम उपाध्यक्ष सुशील भट्ट र महासचिव सुशीलकुमार अर्यालले व्यवस्थापन सङ्घले वित्त नीति, मौद्रिक नीति एवम् व्यवस्थापनका क्षेत्रका काम गर्दै आएको सङ्घले आगामी दिनमा नवःनिर्माण तथा पुनःनिर्माणको व्यवस्थापनका विषयमा काम गर्ने बताउनुभयो । रासस












प्रतिक्रिया