
वीरगन्ज, २२ माघ । लामो समयदेखि अवरुद्ध वीरगन्ज रक्सौल भन्सार नाका आज दिउँसोदेखि पुनः सञ्चालन भएको छ ।
मधेसकेन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका ठप्प पारेपछि यहाँवाट हुने आयात निर्यात पूर्ण रुपमा ठप्प भएका थिए ।
स्थानीय व्यापारीले मितेरी पुलमा रहेको पाल र ढाट हटाएपछि नाका सञ्चालन भएको हो । स्थानीय व्यवसायीले अपराह्न १ बजेदेखि सञ्चालन भएपछि अहिले नाकाबाट साना सवारी साधन, मालवाहक ट्रक, कन्टेनर लगायत सबै सवारीसाधन निर्बाध रुपमा सञ्चालन भइरहेको छ भने नाकामा एक्कासि चहलपहल बढेको छ ।
नाका भएर साँझ ४ बजेसम्म ५० भन्दा बढी मालबाहक ट्रक नेपाल भित्रिएका तथा केही ट्रक सीमावर्ती भारतीय सहर रक्सौलतर्फ गएको पर्साका सहायक प्रजिअ अनुज भण्डारीले बताउनुभयो । नेपाल भित्रिएका मालबाहक ट्रकमा यान्त्रिक औजार लगायत मालसमान रहेको बताइएको छ ।
सर्वसाधारणले यसरी खुलाए नाका:
मितेरी पुलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ता नभएको बेला सर्वसाधारणले पुलमा रहेका आन्दोलनकारीका टेन्टलाई हटाई अवरुद्ध नाका सञ्चालन गरेका हुन् । नेपालका अन्य सबै नाका खुल्ला रहेको अवस्थामा वीरगन्ज नाकालाई मात्र बन्द गरी यस भेगका जनतालाई दुःख दिन नहुने भन्दै सर्वसाधारणले मितेरीपुलमा रहेका आन्दोलनकारीका टेन्ट, ढाट सबै हटाएर नाकालाई सञ्चालन गराएका छन् ।
संविधान संशोधन र सीमाङ्कनको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगत १३५ दिनदेखि वीरगन्जको मितेरीपुलमा धर्ना बसी नाका अवरुद्ध गर्दै आएका थिए । नाका सञ्चालन भएपछि लामो समयदेखि रक्सौलमा थन्किएका नेपाली वाहन वीरगन्जतर्फ आएका छन् भने वीरगन्जमा थन्किएका भारतीय वाहन पनि रक्सौलतर्फ गएको सीमा प्रहरी चौकी इनर्वाले जनाएको छ । रासस















प्रतिक्रिया