काठमाडौं, २२ माघ । मधेस आन्दोलन र मधेसी मोर्चाको नाकाको धर्नाका विषयमा छलफल गरेर सहमति खोज्ने प्रयास स्वरुप प्रमुख चार राजनीतिक शक्तिले पहल थालेका छन् ।
कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका दोस्रो तहका नेताहरु सम्मिलित कार्यदलको बैठक बसेर सहमतिको मस्यौदा बनाउने तयारी भएको छ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार सम्भवत आजै कार्यदलको बैठक बसेर सहमतिको प्रस्ताव तयार बनाइने बताउनुभयो ।
‘कार्यदलको बैठकको तयारी भएको छ । कार्यदलमा रहेका मधेसी मोर्चाका नेताहरु राजधानीमा छौँ । कार्यदलको बैठक सम्भवत आजै बेलुकासम्म बस्नेछ’, उहाँले भन्नुभयो, ‘कांग्रेसका नेता महेश आचार्य पार्टीको महाधिवेशनका लागि उपत्यका बाहिर रहेकाले कार्यदलको बैठक बस्न नसकेको हो ।’
कार्यदलको बैठक यसअघि बिहीबार बस्ने भनिएको थियो । कार्यदलका सदस्यहरु राजधानीमा नरहेकाले बस्न सकेको थिए ।
स्रोतका अनुसार प्रमुख चार राजनीतिक शक्तिबीच शनिबारभित्र नाकाको धर्नाको कार्यक्रम फिर्ता लिने तयारी भएको छ । सोही तयारीअनुसार कार्यदलले मस्यौदा तयार पार्ने बुझिएको छ ।












प्रतिक्रिया