१ कार्तिक २०८३, आइतबार

‘अब नेपालमा लोडसेडिङ नहुने, विद्युत फालाफाल पाइने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepalपोखरा, २१ माघ । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अबको दुई दशकलाई ऊर्जा उत्पादन दशकका रुपमा लिएर पहिलो दशकमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढ्ने बताउनुभएको छ ।

रामबजारस्थित कालिका उमाविको स्वर्ण महोत्सव समापन समारोहलाई आज सम्बोधन गर्दै ऊर्जामन्त्री रायमाझीले देशलाई ऊर्जा सङ्कटकाल घोषणा गरेर अबको पाँच वर्षमा विद्युत् उत्पादन तीव्र गतिमा अघि बढाइने आश्वासन दिनुभयो ।

‘घर घरमा बिजुली जनजनमा सेयर’ मूल नाराका साथ जलविद्युत्का बाँकी आयोजनालाई विशेष प्राथमिकताका साथ अघि बढाइने बताउँदै उहाँले सरकार, निजी क्षेत्र र ठूला कम्पनीबाट विद्युत् उत्पादनमा ठूलो लगानी गरिने जिकिर गर्नुभयो ।

भूकम्प, नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण रोकिएका सबै आयोजना सञ्चालन भएको बताउँदै उहाँले अब इन्धन र ग्यासको अभावमा सञ्चालन भएका आयोजनाको काम नरोकिने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो- अब नेपालमा लोडसेडिङ हुँदैन्, विद्युत कहाँ हालौ भन्ने अवस्था आउँछ । तर त्यसका लागि केही समय धैर्य गर्नुपर्छ ।

ढिलासुस्तीले १०६ वर्षमा जम्मा ३०० मेगावाट मात्रै विद्युत् उत्पादन गरिएकाले अहिले नेपालीले चर्को विद्युत्भार कटौतीको मार खेप्नुपरेको बताउँदै उहाँले नदीमा पानी सुक्दै गएकाले अझै केही समय विद्युत्भार कटौती बढ्न सक्छ तर विद्युत्भार कटौती घट्न सुरु भएपछि घट्दै जान्छ, बढ्दैन भन्नुभयो ।

सो अवसरमा उहाँले विद्यालयको स्वर्ण महोत्सव स्तम्भ, स्वर्णद्वार, प्रावि भवन निर्माणका सहयोगदाता, विद्यालयमा उत्कृष्ट काम गर्ने शिक्षक र कर्मचारीलाई सम्मानपत्र वितरण गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, विद्यालयका प्राचार्य बलराम गिरी, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस