– विमल योगी
काठमाडौं । भूकम्पपछि सिथिल बनेको नेपाली फिल्म केही टाउको उठाउने अवस्थामा पुगेको छ । ठूला ब्यानरका फिल्महरु पनि धमाधम निर्माण भइ रिलिजको मिति कुरेर बसेका छन् । एकआपसमा जुधेपछि ती फिल्महरुले कमाउनेभन्दा पनि गुमाउने पक्का छ ।
आगामी चैत २६ गते चार ठूला फिल्म रिलिज हुँदैछन् । ती सबै फिल्मले प्रचार प्रसार तीब्र बनाएका छन् । ती हुन् रामप्यारी, नाई नभन्नु ल ४, टापु र किस्मत २ । यी फिल्महरुले राम्रो व्यापार गर्ने अनुमान जानकारहरुको छ । फिल्म जुधेर रिलिज हुन लागेकाले व्यापार बाँडिने पक्का छ ।
किस्मत २ अभिनेत्री रेखा थापाका पूर्वपति छवीराज ओझाले निर्माण गरेको फिल्म हो । यो फिल्मको निर्देशन खारिएका निर्देशक ऋषि लामिछानेले गरेका हुन् । फिल्ममा नायिका शिल्पा पोखरेल, नायक किशोर खतिवडालगायतले अभिनय गरेका छन् । छवीले शिल्पाको जन्मदिनको खसीयालीमा यो फिल्म निर्माण गरेका हुन् । फिल्मले रेखा थापाको अनुपस्थितिमा कति कमाइ गर्ने हो हेर्न बाँकी छ ।
उनै छवी ओझाकी पूर्वपत्नी रेखा थापाले निर्माण गरेको अर्को फिल्म हो ‘रामप्यारी’ । फ्लप निर्देशक सवीर श्रेष्ठले निर्देशन गरेको यो फिल्मले आफ्नो छाप यसपटक छाड्न नसक्ने आरोप लाग्न थालेको छ । आफै निर्माता र अभिनेत्रीका रुपमा खेलेकी रेखाले फिल्ममा आभाष अधिकारी, आश्मा डीसी, सवीन श्रेष्ठलाई खेलाएकी छिन् । आभाष अधिकारी रेखाकी दिदीका छोरा हुन् । फिल्ममा महिला टेम्पो चालकको कथा समेटिएको छ ।
त्यसैगरी ‘टापु’ले पनि आफ्नो उपस्थिति जोडदार रुपमा गर्दैछ । ठूला ब्यानरमा बनेका फिल्मसँग जुध्न आइ पुगेको ‘टापु’बाट निर्माण पक्षले ठूलो अपेक्षा बोकेको छ ।
नायक, निर्माता तथा वितरकका रुपमा परिचित करण श्रेष्ठ ‘क्रेजी’ फिल्ममा मुख्य भूमिकामा छन् । ‘टक्कर दुई मुटुको’, ‘सम्झिदिए पुग्छ’, ‘पल्टन’, ‘ओम’, ‘२ दुना ५’, ‘जञ्जिर’ लगायत करिब दर्जन चलचित्रमा अभिनय गरिसकेका करणले ‘टापु’बाट ठूलो अपेक्षा लिएका छन् । ‘टापु’को कथा प्रेममा आधारित छ ।
करणका साथै फिल्ममा नायिका अमृता माझी, विवश माझी, रीतु माझीको पनि अभिनय छ । ‘टापु’को छायंकन जोमसोम, काभ्रे, सिन्धुपाल्चोक र पोखरामा गरिएको हो ।
फिल्मको निर्देशन सोम कुस्कु माझीले गरेका छन् । कुमार माझीको लगानी गरेको फिल्ममा गोबिन्द प्रभातको नृत्य, सन्तोष प्रगाढको संगीत र राजु किराँतको द्वन्द्व रहेको छ ।
‘नाइ नभन्नु ल ४’ ले पुरानै अपेक्षा अनुसार बाजी मार्ने दाउमा छ । तर अहिले त्यो अवस्था नरहेको निर्माण पक्षको बुझाइ छ । यो फिल्मलाई निर्देशक विकास आचार्यले बनाएका हुन् । आर्यन सिग्देललाई हीरो बनाउने बचन दिएर अन्त्यमा नयाँ कलाकार लिएर विकासले ‘नाई नभन्नु ल ४’ बनाएको आरोप नेपाली बजारमा छ ।
‘नाई नभन्नु ल ४’ मा त्रिकोणात्मक प्रेम कथा समेटिएको छ । फिल्ममा पल शाह, वर्षा राउत र आचल शर्माको अभिनय छ । फिल्ममा लगानी हरिबोल भण्डारी र दिनेश पोखरेलले गरेका हुन् ।















प्रतिक्रिया