७ कार्तिक २०८३, शनिबार

डिएसपीको घुस काण्डले एसएसपीलाई धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिएसपी दयानन्द (डिएन) ज्ञवालीसहित दुर्इ प्रहरी
डिएसपी दयानन्द (डिएन) ज्ञवालीसहित दुर्इ प्रहरी

काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेका महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी दयानिधि ज्ञवालीको काण्डले परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीलाई ठूलो धक्का लागेको छ ।

जहाँ बस्यो त्यही चेन अफ कमाण्डमा कमजोर मानिदैं आएका एसएसपी अधिकारी डिएसपी ज्ञवालीको भ्रष्ट आचरण र गैर कानुनी कारोबारबारे पहिल्यै जानकार थिए ।

तर, एमाले नेताहरुको दबाबमा ज्ञवालीलाई जे गर्न पनि छुट हुँदै आएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । ज्ञवाली खराव प्रहरी अधिकृत भए पनि प्रवक्ता र परिसरमा मुद्दा हेर्ने जिम्मा पाएका थिए ।

एसएसपी अधिकारी ज्ञवालीको घुस काण्डपछि तनावमा परेको प्रहरी स्रोत बताउँछ । यसअघि अधिकारी जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रमुख छँदा उनकै मातहतका प्रहरी एसएलआर राइफल सहित भागेका थिए ।

एसएलआर सहित भागेका छोटेलाल ठाकुरलाई महानगरिय प्रहरी अपराध महाशाखको टोलीले तीन महिना अघि सुन्धाराको लुम्बिनी पाहुना घरमा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्सामा छँदा पनि एसएसपी अधिकारीकै कमजोर चेन अफ कमाण्डकै कारण हतियार हराएको थियो ।

प्रहरीमा अधिकारीलाई राम्रा अधिकृतका रुपमा लिने गरिए पनि चेन अफ कमाण्डमा उनी कमजोर मानिन्छन् । त्यसो त, परिसरकै कमजोर चेन अफ कमाण्डको फाइदा लिएका डिएसपी ज्ञवालीकै आडमा गुण्डा नाइके विश्वक्रान्ति सिंहले पेट्रोल पम्पमा विचौलियाको भूमिका निर्वाह गरेका थिए ।

सोमबार पेट्रोल पम्पको स्वामित्व भोगचलन विवादमा विचौलियाको भूमिका निर्वाह गर्ने विश्वक्रान्ति हेटौडाका कुख्यात गुण्डा नाइके हुन् ।

विश्वक्रान्ति डन दिपक मनाङ्गे निकट मानिन्छन् । गत वर्ष एक करोड ठगी काण्डमा जेल परेका विश्वक्रान्ति ललितपुरलाई आधार क्षेत्र बनाई असुली धन्दामा सक्रिय थिए ।

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई सोह्रखुट्टे प्रहरीको इन्चार्ज छंदा ज्ञवालीमाथि सात लाख असुलेर छाडेको आरोप लागेको थियो ।

ज्ञवाली स्वयम्भू बृत्तमा प्रमुख रहँदा अर्का गुण्डा नाइके बाघे लामासँग पनि नजिक रहेर गुण्डागर्दीलाई संरक्षण गरेको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंका तत्कालिन एसएसपी रमेश खरेलले स्पष्टिकरण सोधेका थिए ।

अख्तियारले एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन सम्बन्धमा गैह्रकानूनी रुपले मुद्दा खिचेर विवाद मिलाइदिने नाममा डिएसपी ज्ञवाली, इन्सपेक्टर रमेशबहादुर सिंह र सई लालमणी पाण्डेसहित विचौलिया गुण्डा विश्वक्रान्तिलाई रकम लिइरहेको अवस्थामा मंगलबार बेलुका पक्राउ गरेको थियो ।

डिएसपी ज्ञवाली, इन्सपेक्टर सिंह र विचौलिया विश्वक्रान्ति पुल्चोकस्थित थाईघर रेष्टुरेन्टबाट तीन लाख लिंदालिंदै पक्राउ परेका थिए भने सई पाण्डे कलंकीस्थित स्टुडेन्ट क्याफेबाट एक लाख पचास हजार घुस रकम लिदैगर्दा पक्राउ परेका थिए ।