
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका नृत्य निर्देशक वसन्तजङ्ग रायमाझीको आज निधन भएको छ ।
‘कान्छी’, ‘कसम’, ‘ज्वाला’, ‘पृथ्वी’, ‘युगदेखि युगसम्म’ र ‘तृष्णा’लगायत करिब एक सय नेपाली चलचित्रमा नृत्य निर्देशन गर्नुभएका रायमाझीको बिहान ८१ वर्षको उमेरमा निधन भएको हो ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु हुनुभएका रायमाझीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रायमाझीले १५० भन्दा बढी नेपाली चलचित्रमा कोरियोग्राफी गर्नुभएको छ । रायमाझीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
रायमाझीको शवलाई श्रद्धाञ्जलि दिन दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले रायमाझीप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै राष्ट्रिय झन्डा ओढाउनुभएको थियो । रासस















प्रतिक्रिया