१४ कार्तिक २०८३, शनिबार

डोटीका १७ स्थानमा स्थायी बन्ध्याकरण शिविर चल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women ligation operation Bandhyakaran

– झलक पाली
डोटी, १९ माघ । डोटीका विभिन्न १७ वटा स्थानमा निशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ ।

नेपाल परिवार नियोजन संघ डोटीको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय डोटीले बुधबारदेखि परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्न लागेको हो ।

पुरुषहरुका लागि स्थायी बन्ध्याकरण भ्यासेक्टोमी र महिलाहरुका लागि मिनिल्याप सेवासहित विभिन्न स्थानमा शिविरहरु सञ्चालन हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाईजर कपिलदेव जोशीले जानकारी दिए ।

सन्तानको रहर पुगिसकेका महिला तथा पुरुषहरुका लागि स्थायी बन्ध्याकरण सम्बन्धी सेवामा पहुँच अभिवृद्धि गर्ने उद्धेश्यले गाउँ–गाउँमा शिविर सञ्चालन गरिन लागेको जोशीले बताए ।

शिविर अन्तरगत पहिलो दिन माघ २० गते दुर्गामाण्डौ, २१ गते तिखातर, २२ गते सात्फरी, २४ गते चवराचौतारा, २५ गते सिमचौर, २७ गते लानाकेदारेश्वर, २९ गते घाङल, फाल्गुन २ गते बर्छैन, ४ गते महादेवस्थान, ५ गते डौड, ६ गते तोलेनी र १५ गते मुड्भरा स्वास्थ्यचौकीमा पुरुषहरुका लागि स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुनेछ ।

त्यसैगरी फाल्गुन ९ गते छतिवन, ११ गते बन्लेक, १२ गते दिपायल, १३ गते बाँझककानी स्वास्थ्यचौकीमा तथा १४ र १५ गते जिल्ला अस्पताल सिलगढीमा महिला तथा पुरुष दुवैका लागि स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने जनाईएको छ ।

साथै शिविरमा महिलाहरुका लागि लामो अवधीको अस्थायी परिवार नियोजनका साधन ईम्प्लान्ट तथा आईयुसिडी सेवा समेत रहने आयोजकले जनाएको छ ।

विगतका वर्षहरुमा स्थायी बन्ध्याकरण गर्ने महिला तथा पुरुषको तथ्याङ्क हेर्दा क्रमशः बढ्दो दरमा रहेको जिल्ला स्वास्थ्यका सुपरभाईजर जोशीले बताए ।

शिविर बाहेक जिल्ला अस्पताल डोटीमा नियमित रुपमा पुरुषहरुका लागि स्थायी बन्ध्याकरण सेवा उपलब्ध रहेको अस्पताल श्रोतले जनाएको छ ।