१ कार्तिक २०८३, शनिबार

‘फिल्मी शैली’मा जेल जानुपर्दाको क्षण…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-pokhrel

– ईश्वर पोखरेल

राजा ज्ञानेन्द्रको सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिने प्रजातन्त्रविरोधी घोषणापश्चात् ‘सार्वजनिक सुरक्षा ऐन’अन्तर्गत मलाई गिरफ्तार गरियो । स्कुलमा आठ कक्षा पढ्दै गर्दा पहिलोपटक गिरफ्तारीमा परेको म, ४७ वर्षपछि मन्त्री हुँदाहुँदैको अवस्थामा पनि त्यही कानुनअन्तर्गत पुन: गिरफ्तार भएँ । ०२५ देखि ०६१ सालको बीचमा म दर्जनौँपटक राजनीतिक कारणले नै गिरफ्तार हुँदै आएँ । गिरफ्तारीका ती सबै प्रसंग सिनेमाका रिल घुमेजस्तो मेरो दिमागमा घुमिरहेका छन् ।

केही दिन पहिलेदेखि नै राजनीतिक वातावरण अत्यन्त अनिश्चित थियो । राजाले ‘टेकओभर’ गर्ने हल्ला चलिरहेको थियो । आज ‘टेकओभर’ गर्ने, भोलि गर्नेजस्ता हल्ला भइरहेका थिए । त्यस्ता हल्ला कसरी र कुन स्रोतबाट हुने गरेका थिए, कसैलाई थाहा थिएन । त्यसो त केही पहिलेदेखि नै ‘राजा सक्रिय हुनुपर्छ’, ‘सरकार विघटन गरी राजा आफैँले शासनसत्ता हातमा लिनुपर्छ’, बहुदलवादी विभिन्न नेताहरूको नाम लिँदै, ती ‘सबैलाई जेलमा कोच्नुपर्छ’ आदिजस्ता कुरा सार्वजनिक गर्दै केशरजंग रायमाझी, सच्चितशमशेर राणा, भरतकेशर सिंहलगायत व्यक्तिहरू केही अनौठा खालका संस्थामार्फत प्रकट भइरहेका थिए ।

राजाको सक्रियता पनि अस्वाभाविक किसिमले बढिरहेको थियो । उनका सार्वजनिक अभिव्यक्ति प्रजातन्त्रविरुद्ध विषाक्त किसिमले प्रकट भइरहेका थिए । गम्भीर बन्दै गएको यस्तो परिस्थितिका सम्बन्धमा पार्टीभित्र पनि छलफल हुने गरेको थियो र मन्त्रीहरूका बीचमा पनि यस विषयमा कुरा हुने गथ्र्याे । तर, त्यो सम्भावित परिस्थितिलाई रोक्ने सम्बन्धमा खासै पहल र प्रयत्न भने कतैबाट पनि भइरहेको थिएन, हुन सकिरहेको थिएन । खासगरी सरकारको तर्फबाट औपचारिक रूपमा केही निर्णय गरेर यस किसिमको पहल गरौँ भनी पटक–पटक छलफल गर्दा पनि निर्णय हुन सकिरहेको थिएन । केही राजनीतिक महत्त्व राख्ने र जनताको हित हुने, उनीहरूलाई आकर्षित गर्ने केही फैसला गरौँ भन्यो, प्रधानमन्त्री शेरबहादुर देउवा तत्परै नहुने, खालि ‘पख्नुस्, पख्नुस्’ मात्र भनिरहने र प्रस्तावित विषयलाई पन्छाइदिने बडो विचित्रको स्थिति थियो । प्रधानमन्त्री कहिलेकाहीँ ‘परिस्थिति गम्भीर छ’ भन्नचाहिँ भन्ने, तर पाइला भने केही नचाल्ने । हामी मन्त्रीहरूले अलिक च्यापेर कुरा गर्‍यौँ भने उनको जवाफ हुन्थ्यो, ‘पख्नुस्, बहुदलीय संयन्त्रमा कुरा गर्छु, अनि निर्णय गरौँला’ आदि । तर, हामीले थाहा पाएअनुसार बहुदलीय संयन्त्रमा गम्भीरताका साथ कहिल्यै कुरा भएन ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (१६–१७ मंसिर २०६१)का वेला पनि राजाले ‘टेकओभर’ गर्ने हल्ला खुबै चलेको थियो । राजाले ‘तीन वर्षभित्र माओवादी तथा बहुदलवादी नेताहरू दुवैलाई ठीक गरी मुलुकलाई ट्रयाकमा ल्याउने’ विचार बनाएर केही देशका नेताहरूसित कुरा गर्दै छन् रे भन्ने पनि सुनिएको थियो । त्यसवेला प्रधानमन्त्री शेरबहादुर देउवा पनि केही गम्भीर देखिएका थिए । केही राजनीतिक निर्णयका लागिसमेत उनी तयार देखिएका थिए । तर, ‘अमेरिका, बेलायत र भारतका कूटनीतिक प्रतिनिधिका तर्फबाट राजालाई त्यस्तो कदम नचाल्न सल्लाह दिइएको’ र ‘राजा केही पछि हटेका छन् रे’ भन्ने जानकारी पाएपछि शेरबहादुरजीमा त्यो गम्भीरता फेरि बिलाएर गयो । उनी फेरि ‘पख्नुस्, हेरौँ’मै पुगेका थिए ।

gyanendra_magh_19

माघ १७ गते हामी केही एमालेका मन्त्रीहरू उपप्रधानमन्त्री भरतमोहन अधिकारीको क्वार्टरमा राति अबेरसम्म बस्यौँ । दरबारमा त्यो दिन दिनभरि राजासहित उनका केही निश्चित मानिसले ‘टेकओभर’को अन्तिम निर्णय गरिसके भन्ने कुरा विशेष स्रोतबाट थाहा पाइएको थियो । हामीले छलफल गरेपछि शिक्षामन्त्री विमलेन्द्र निधिलाई पनि त्यहाँ बोलाइयो । हामीले गम्भीरताका साथ सामूहिक छलफल गर्‍यौँ । भरतमोहन अधिकारीलाई महासचिव माधवकुमार नेपालले बेलुकापख नै यस सम्बन्धमा केही जानकारी गराइसक्नुभएको रहेछ । निधिसहित त्यहाँ बसेका सबैको तर्फबाट उपप्रधानमन्त्रीले प्रधानमन्त्रीलाई फोन गरी परिस्थितिको बारेमा संक्षेपमा जानकारी गराउनुभयो । हाम्रो योजना थियो– भोलिपल्ट नै केही महत्त्वपूर्ण राजनीतिक निर्णय गरौँ । यही आशयका कुरा भरतमोहन अधिकारीले राख्नुभयो । तर पछि, हामीले उहाँमार्फत बुझ्यौँ, त्यसवेला शेरबहादुर गम्भीर कुरा गर्ने ‘मुड’मा हुनुहुन्थेन । पछि हिँडेपछि हाम्रो बीचमा भरतमोहनजीले भन्नुभयो, ‘गम्भीरतालाई बुझ्नै नसक्ने मान्छेको पछि लागेर हिँड्दा थाहा पाई–पाई पनि मृत्युबाट बच्ने उपाय गर्न नसकिने भयो !’ त्यस रात हामी सबै अब के गर्ने भन्ने खासै टुंगो नगरी उठेका थियौँ । त्यस रातको प्रसंग सम्झिँदा अहिले पनि लाग्छ, हामीले कसरी पहलकदमी गुमाइसकेका थियौँ, कसरी दिशाविहीन बनिसकेका थियौँ ।

१८ गते बिहान मन्त्रिपरिषद्को बैठकपछि मन्त्रालयका केही काम सकेर तीन बजेतिर म निवास पुगेँ । मन्त्रिपरिषद्को बैठकमा खास गम्भीर कुरा भन्दा पनि तपसिलका कुरामै समय सकियो । तर, त्यस दिनकै बैठकले एक वर्षअगाडि रहस्यमय तरिकाले हत्या गरिएका नेकपा (एमाले)का निवर्तमान सांसद हेमनारायण यादवको हत्यासम्बन्धी छानबिन आयोग बनाउने निर्णय गरेकाले मलाई खुसी नै लाग्यो ।

मलाई एउटा त राम्रो काम भयो भन्ने लागेको थियो । किनभने, अघिल्लो बैठकका वेला अब आयोग नबन्ने हो भने हामी मन्त्रीहरूले नै ‘आयोग बनाउन नचाहने प्रधानमन्त्रीको सार्वजनिक भत्र्सना गर्छौँ’समेत भन्नुपरेको थियो । जे होस्, यो एउटा राम्रो निर्णय लिएर सिरहा जान पाइने भयो भनेर खुसी नै लाग्यो । घरमा मीरालाई मैले गम्भीर बन्दै गरेको राजनीतिक परिस्थितिका बारेमा केही दिन पहिलेदेखि नै कुरा राख्दै आएको थिएँ । उनलाई मेरो सिरहातिरको कार्यक्रमबारे सबै कुरा त्यति राम्ररी थाहा थिएन । थाहा पाएपछि उनले ‘यस्तो परिस्थिति छ, नजाने कि’ भनेकी थिइन् । ‘निर्धारित भइसकेको कार्यक्रममा अब नगइहुन्न’ भन्दै म हिँडेँ ।

राजनीतिमा एउटा अँध्यारो अध्याय सुरु हुँदै छ भन्ने कुरा थाहा पाउँदा–पाउँदै पनि एक किसिमले नेतृत्वविहीन, पहलकदमी र योजनाविहीन भएर म तय भएको कार्यक्रमका लागि हिँडेको थिएँ । कस्तो निरीहता र अन्योलपूर्ण परिस्थितिले घेरिसकेको थियो, त्यसवेला ।

१८ गते बेलुका झन्डै ७:३० बजे म राजविराज क्षेत्रीय प्रहरी इकाइ कार्यालयको गेस्टहाउसमा बास बस्न पुगेँ । त्यहाँ पुग्दा पनि राजाले आज केही गरेनन् भन्ने कुराले ‘आजचाहिँ कट्यो’ भन्ने भइरहेको थियो मलाई । अरू सबै साथीलाई बिदा गरेपछि एसएसपी शारदाभक्त रञ्जितसित झन्डै ११ बजेसम्म कुराकानी भयो । उनले परिस्थितिको गम्भीरतालाई दर्शाउने हिसाबले धेरै विषयमा कुरा गरे ।

१९ गते बिहानै राजविराजको औद्योगिक क्षेत्रको भ्रमण गरी नौ बज्दा–नबज्दै सिरहाका लागि हिँड्ने योजना बनाइएको थियो । तर, बिहानै राजाले १० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै छन् भन्ने थाहा पाइयो । १८ गते नै गर्ने काम १९ गते गर्ने भएछन् भन्ने लाग्यो । परिस्थिति अब आफ्नो हातमा छैन भन्ने मलाई लागिसकेको थियो । बिहानै सात बजे सबै साथी गेस्टहाउसमै आए । एकछिन कुरा गरेर हामी सबै औद्योगिक क्षेत्रतिर लाग्यौँ । मैले परिस्थितिको गम्भीरतालाई थाहा पाएर कार्यक्रम छोट्याई जति सकिन्छ, चाँडो सिरहा लाग्ने मन बनाए पनि अरू साथीले परिस्थितिको गम्भीरता थाहा नपाएर हुन सक्छ, सामान्य परिस्थितिमा जस्तै छलफल गर्न चाहिरहे । ‘राजनीतिक परिस्थिति’, ‘सरकारको काम’, ‘पेट्रोलियम पदार्थको भाउ वृद्धि’जस्ता विषयमै उनीहरू र्‍याइँर्‍याइँ गरिरहेका थिए । पछि मैले त्यहाँ सुमन प्याकुरेल, दिवाकर देवकोटालगायत साथीहरूलाई केही कुरा बताएर कार्यक्रम छोट्याउन लगाएँ । मैले त्यहाँ साथीहरूले उठाएका तपसिलका विषयमा भन्दा पनि राजाबाट चालिन लागेको अप्रजातान्त्रिक कदमप्रति संकेत गर्दै ‘प्रजातन्त्रका विरुद्ध चालिने कुनै पनि कदमको प्रतिवाद गर्नुपर्ने’ कुरा राखेको थिएँ । त्यहाँ उपस्थित भएकाहरूले राजाको सम्भावित प्रतिगामी कदमबारे के–कति बुझे कुन्नि, सँगै रहेका डिएसपी र सिडिओ भने मतिर हेर्दै एक–आपसमा मुखामुख गर्दै थिए ।

त्यसैबीच मैले काठमाडौंमा भरतमोहन अधिकारी, केपी ओलीसित केही कुरा गरिसकेको थिएँ । उहाँहरूले पनि अब राजाको ‘टेकओभर’को सम्भावना छ भन्ने जानकारी गराउनुभयो । त्यसवेला केही समयपहिले प्रधानमन्त्रीसित फोनमा कुरा गर्न खोज्दा ‘सुकला होइबक्सेको छ’ भन्ने जवाफ पाएको कुरा भरतमोहन अधिकारीले अत्यन्त खिन्न भावका साथ सुनाउनुभयो । त्यसैबीच मेरो मोबाइलमा कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र पाण्डे, विष्णु रिमालले कुरा गरी परिस्थितिबारे जानकारी लिन खोज्नुभयो । उहाँहरू कसैलाई पनि म राजविराजमा छु भन्ने थाहा थिएन । मैले एकैछिन अगाडि गरेको फोनको प्रत्युत्तरमा प्रधानमन्त्री शेरबहादुर देउवाको फोन आयो । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘राजाले १० बजे ‘टेकओभर’ गर्दै छन्, अहिले बालुवाटारमै क्याबिनेटको बैठक गरी हामीले त्यस कदमलाई ‘कन्डेम’ गर्नेछौँ । हामी सबै पार्टी संयुक्त रूपमा ‘स्ट्राटेजी’ बनाएर अगाडि बढ्नेछौँ आदि ।’ केहीबेर अगाडि प्रधानमन्त्रीलाई फोन गर्दा भारतीय राजदूत बालुवाटार पुगेको थाहा पाएको थिएँ । अलिकति समय रहँदै राजनीतिक पहलकदमी लिन नसक्ने प्रधानमन्त्रीबाट व्यक्त भएको आक्रोशको केही अर्थ छैन भन्ने मलाई लाग्यो । त्यसैबीच घरमा मीरासित दुई–तीनपटक कुरा भइसकेको थियो । मैले उनलाई परिस्थितिको गम्भीरता बुझी सबै काम गर्न सल्लाह दिएको थिएँ ।

हामीले कार्यक्रम छोट्याए पनि सुरक्षा निकायका मानिसले मलाई सिरहा जान नदिई त्यहीँ नजरबन्दमा राख्ने योजना बनाइसकेछन् । राजाको घोषणा हुनासाथ औपचारिक रूपमा नियन्त्रणमा लिने भनी उनीहरूले ‘माथि’बाट निर्देशन पाइसकेछन् । हामी सबै औद्योगिक क्षेत्रको एकछिनको कार्यक्रमपछि १० बज्न लागेका कारण प्रत्यक्ष प्रसारण सुन्न जिल्ला कमिटीका सचिव दिवाकर देवकोटाका घरमा गयौँ । हामीसँगै सुरक्षाकर्मीको टोली डिएसपी सञ्जयसिंह बस्नेतको नेतृत्वमा थियो । मन्त्रीको सुरक्षाभन्दा पनि राजाको घोषणा हुनासाथ नियन्त्रणमा लिने हिसाबले उनीहरू हाम्रो पछाडि लागेको मैले बुझिसकेको थिएँ । दिवाकर देवकोटाका घरमा राजाको घोषणा सुनेपछि सुरक्षाकर्मीको व्यवहार हामीलाई नियन्त्रणमा लिने खालको प्रस्टै देखिन्थ्यो । उनीहरू विशेष सतर्क देखिन्थे । ममाथि उनीहरू विशेष नजर दिइरहेका थिए । साथीहरूका बीचमा स्तब्धता छाएको थियो । राजाको घोषणा सकिनासाथ मैले त्यहाँ रहेका सबै साथीलाई भनेँ, ‘राजाले आफ्नो योजनाअनुसार काम गरेका छन्, अब हामी आफूले गर्नुपर्ने काम गर्नुपर्छ ।’

गेस्टहाउसमा आउने हिसाबले म गाडीमा बसेँ । मसँगै पूर्वसांसद जगदीश साह, दिवाकर देवकोटा र पत्रकार प्रकाश खतिवडा पनि बस्नुभयो । सप्तरीमा पार्टी परिचालनका लागि दिवाकर सुरक्षित हुने कुराले विशेष महत्त्व राख्थ्यो भन्ने मलाई लागेको हो । तैपनि, मलाई सुरक्षाकर्मीले अघोषित नियन्त्रणमा लिएका वेला सायद उहाँले साथै लाग्ने कर्तव्य ठान्नुभयो । काठमाडौंदेखि नै मसित आएको टोली त छँदै थियो । गाडीमा बसेपछि डिएसपीलाई मैले ‘अब झन्डा किन फहराउने, हटाए भइहाल्यो नि’ भनेँ । उनले हाँस्तै ‘हो त नि’ भन्दै अर्को पुलिसलाई झन्डा छोप्न आदेश दिए । वास्तवमा यही वेला मलाई बन्दी बनाइसकिएको थियो ।

सरासर गेस्टहाउसमा आइपुग्दा त्यस्तै पौने ११ बजेको हुँदो हो । हामीलाई त्यहीँ खानपिन गराइयो । अब मैले सिरहा वा विराटनगर फिर्ने चाहना व्यक्त गर्नु पनि उचित लागेन । किनभने, प्रहरीले ‘माथि’को आदेशबमोजिम नै मलगायत अरू साथीलाई नियन्त्रणमा लिइसकेको थियो । हिरासतमा लिइएकामध्ये प्रकाश खतिवडालाई बाहिर लगी प्रहरीका हाकिमले केही भने । प्रकाश नेकपा (एमाले)का सदस्य तथा प्ररायुसंघका जिल्लास्तरीय कार्यकर्ता भए पनि पत्रकार तथा मानव अधिकारसित सम्बन्धित संगठनमा आबद्ध भएका कारण गिरफ्तार नगर्ने निर्णय भएको रहेछ । बाहिर लगेर उहाँलाई त्यही कुराको जानकारी गराइएको रहेछ । उहाँ गह्रौँ मनले हामी सबैसित हात मिलाएर बिदा हुनुभयो । हामी कोठाभित्र बसेका अब क–कसका लागि के आदेश छ, त्यसैअनुसार प्रहरी हाकिमले गर्ने होलान् भनी मैले मन बनाइसकेको थिएँ । औद्योगिक क्षेत्रको भ्रमणका लागि सँगै आउनुभएका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष रमाकान्त मैनालीलाई फिर्न सल्लाह दिएँ । उहाँ त्यसै दिन विराटनगर हुँदै काठमाडौं जानुभयो । हिँड्ने वेलामा उहाँले मलाई बन्दी बनाइसकेको बुझेर आफूसँग ल्याएको पैसामध्ये एक हजार दिन खोज्नुभयो । मैले आफूसँग हजार–बाह्र सय छँदै छ, चाहिएन भनेको, मान्दै मान्नुभएन । के पर्छ, कसो पर्छ, लिइराख्न विशेष आग्रह गरेपछि मैले लिएँ । उहाँ गएपछि काठमाडौंबाट मसित आएको टोलीमा विश्व र मेरो गार्ड गणेश दल गुल्मबाट आएका काठमाडौं कलंकीका कृष्ण थापा मात्रै बाँकी रह्यौँ । त्यसवेला सबैतिरका टेलिफोन काटिए पनि एसएसपीको निवासको लाइन भने काटिइसकेको थिएन । मैले सँगै रहेका इन्स्पेक्टर गौतमराज कट्टेलसित भनेर काठमाडौं पार्टी अफिसमा सम्पर्क गरेँ । त्यसवेलासम्म पार्टी अफिसको फोन नभ्याएर होला, काटिइसकेको थिएन । कसो–कसो चन्द्रदेवसित सम्पर्क भयो । उसले एकै सासमा, केही समयपहिले अफिसमा दर्जनौँ सशस्त्र प्रहरी आएका, अफिसका सबै कोठाहरूको तलासी गरेका, त्यहीँबाट प्रदीप नेपाल र रूपनारायण श्रेष्ठलाई गिरफ्तार गरिएको, वामदेव गौतम, राजेन्द्र पाण्डे, महेन्द्र पाण्डे आदिलाई पनि समातिएको, माधव नेपाल, अमृत बोहरा, केपी ओलीलगायतलाई घरमै नजरबन्दमा राखिएको जानकारी दियो । मैले उसलाई आफू राजविराज एसएसपी अफिसमा भएको जानकारी दिएँ । मन्त्रीनिवासमा फोन काटिइसकेकाले हुनुपर्छ, लाग्दै लागेन । अन्त केही ठाउँमा पनि गर्ने कोसिस गरेँ, तर भएन । कसो–कसो जीवनराज शाक्यसित सम्पर्क भयो । मैले उहाँलाई संक्षिप्तमा सबै कुरा बताई मीरालाई आजै क्वार्टरबाट सर्न भनिदिन र त्यस कामका लागि सहयोग पुर्‍याइदिन अनुरोध गरेँ । अस्तव्यस्त परिस्थिति र मेरो अनुपस्थितिले मीरालाई घरमा सर्न कठिनाइ भयो होला भन्ने ठानेर मैले उनीसित सहयोगको आशा गरेको थिएँ । यति ठाउँमा कुरा गर्नासाथ फोन च्वाट्टै काटियो । फोनबाट भइरहेका कुराको कहीँबाट सेन्सर भइरहेको आभास मैले पाएँ ।

०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरी सेनाको बलमा सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिएको कुरालाई इतिहासको कुख्यात अध्यायका रूपमा पछिल्लो पुस्ताका सबैले पढेका छन् । आफ्नै बाबुको उद्देश्यलाई एक किसिमले अक्षरश: अनुसरण गर्दै राजा ज्ञानेन्द्रले गरेको ‘कु’को परिणाम नेपालका प्रजातन्त्रका पक्षधर नेपाली जनताले कसरी भोग्नुपर्ने हो, म यस्तै तर्कनामा थिएँ । सम्भव ठाउँमा टेलिफोन सम्पर्कका लागि कोसिस गरिरहँदा यिनै कुरा मेरो दिमागमा तुफानजस्तै उठिरहे । कोठामा आएर जिज्ञासा, आशंका र अनिश्चिततामा घेरिएका दिवाकर र जगदीशलाई बाहिरको अवस्थाबारे बताइसक्न पाएको थिइनँ, त्यतिवेलै उहाँहरूका लागि ‘सार्वजनिक सुरक्षा ऐन’अन्तर्गत तीनमहिने थुनुवापुर्जी लिएर प्रहरी टोली आइपुग्यो । प्रहरीको एउटा टुकडी उहाँहरूलाई जेल लैजान आइसकेको थियो र त्यसरी एकाएक तुरुन्तै हिँडाइहाल्यो ।

छुट्टिनुपरेकोमा उहाँहरूले केही नरमाइलो मान्दै हात मिलाउनुभयो । उहाँहरू बिदा भएपछि मलाई एकैछिन नरमाइलो पनि लाग्यो । अब मसित कोठामा विश्व मात्रै थियो । मेरो गार्ड जमदार थापा झोक्राएर बाहिरै गाडीमा बसिरहेका थिए । केही समयपछि एसएसपी आएर मलाई ‘नियन्त्रणमा लिइएको भए पनि ‘माथि’ नै पठाउन आदेश आउँछ कि भनेर पर्खेर बसेको, तर आएको छैन । केही निर्देशन नआउन्जेल हजुरका लागि हामी पर्खन्छौँ,’ भने । ‘ठीकै छ,’ भन्नुबाहेक मैले अरू केही भन्न आवश्यक ठानिनँ ।

१९ गतेको रात मैले त्यहीँ बिताएँ । २० गते बिहानै विश्वलाई मेरा लागि नपर्खन, काठमाडौं जान र बरु त्यहाँ गएर सघाउन भनेँ । उनी जाने तयारीमा लागे । जानुभन्दा अगाडि उनले बन्दी अवस्थामा चाहिने आवश्यक सामान किनेर ल्याइदिए । त्यहीँ काम गर्ने ज्वाइँ महेन्द्र उपाध्यायलाई पनि सँगै ल्याएर परिचय गराए । झुलसहित एक सेट ओछ्याउनेको व्यवस्थाका लागि उहाँलाई जिम्मा दिए । यसैबीच स्थानीय आर्मी ब्यारेकका प्रमुख मेजर रामचन्द्र खत्री आएर मसित काठमाडौंदेखि आएको जमदार थापालाई आफ्नो ब्यारेकमा लिएर गए । जमदारलाई मैले कोठामै बोलाएर ‘यस्तै भयो भाइ, पछि पनि भेट्दै गर है’ भनेँ । धन्यवाद ! भन्दै केही पैसा पनि दिऊँ कि जस्तो लागेको थियो । तर, त्यहीँ मेजर भएका कारण उचित नहोला भनेर दिइनँ । उनी केही नबोले पनि नमिठो मान्दै स्यालुट हानेर बिदा भए ।

एकछिनपछि विश्व पनि विराटनगरबाट आउँदा ल्याएको गाडीबाटै त्यतातिर लागे । थुनुवापुर्जी नै नपाए पनि त्यसवेला म पूर्ण रूपमा बन्दी भइसकेको थिएँ । विश्वका हातबाट मैले घरमा सम्झाई–बुझाई गरेर एउटा सानो पत्र पनि पठाएँ । विश्व हिँडेको लगभग दुई घन्टापछि एसएसपीले आएर ‘जसलाई जहाँ गिरफ्तार गरिएको छ, त्यही ठाउँमा राख्ने नीति माथिबाट आएको जानकारी गराए । उनले अब हजुर पनि यहीँ बस्नुपर्ने भएकाले यहीँकै जेलमा जानुपर्ने भयो,’ भने । म त मानसिक रूपले तयार नै थिएँ । हिँड्ने वेलामा स्वकीय सचिव नारायण सिलवाललाई भनेर क्षेत्रहरूको भ्रमणमा आवश्यक पर्ने विषयको टिपोटका लागि एउटा डायरी लिएको थिएँ । त्यो नयाँ डायरीमा अब बन्दी अवस्थाका कुरा लेख्नुपर्ला भन्दै पाना पल्टाएँ । सुरुको पानामा एकछिन ‘के लेखूँ, के लेखूँ’ लाग्यो । राजा ज्ञानेन्द्रको घोषणालाई एकपटक फेरि सम्झेँ । ‘राजाले जोखिमको जुवा खेलेका छन्, यो जनता तथा प्रजातन्त्रविरुद्धको युद्ध–घोषणा हो,’ डायरीको पहिलो पानामा मैले यिनै शब्दहरू लेखेँ । जेल जान कोठाबाट बाहिर निस्किँदा वरिपरि हेरेँ । सशस्त्र प्रहरीको भ्यान तयारी अवस्थामा थियो । उनीहरू म बाहिर निस्कनासाथ तयारीको पोजिसनमा देखिए । त्यसवेला आँगनको छेउमै रहरलाग्दा बोटबिरुवाको बीचमा ठिंग्रिङ्ङ खडा सुकेको सिसौमा एउटा कालो काग कराउँदै थियो ।

(यो लेख नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको माघ १९ नामक पुस्तकबाट साभार गरिएको हो । ०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिए । तत्कालिन मन्त्री पोखरेलले जेलबाट लेखेको संस्मरण)