
– विमल योगी
काठमाडौं, १९ माघ । काठमाडौंको माइतीघर र सिरहाको लहान आन्दोलनले जन्मिएको पार्टी मधेसी जनअधिकार फोरम नेपालका संस्थापक अध्यक्ष उपेन्द्र यादवको राजनीतिक यात्रा लामो छ । उनीविरुद्ध विभिन्न खालका अफबाह, टिकाटिप्पणी र आरोप प्रत्यारोपहरु पनि छन् । पार्टी विभाजन, फुट र गुटको शिकार हुँदै अहिले संघीय समाजवादी फोरम नेपालमा आएर सङ्लिने प्रयासमा छ ।
आफूलाई लागेका आरोप जे भए पनि अध्यक्ष यादवले त्यसको सामना गर्दै अहिले मधेस आन्दोलनलाई जोडदार रुपमा अगाडि बढाइरहेका छन् । आन्दोलन र वार्तालाई सँगसँगै अगाडि बढाइरहेका छन् ।
विशेष गरेर जातीय राजनीति गरेको आरोप लागेका उपेन्द्र यादवले आफूलाई त्यसबाट माथि उठाउने प्रयासमा छन् । उनको अहिलेको पार्टीले केही भए पनि जातीयता भन्दामाथि उठ्ने प्रयास गरेको छ । तैपनि अध्यक्ष यादव आफूभित्रै रुमल्लिएको आरोप छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामार्फत मधेसीको अधिकारका लागि राजनीतिक मागसहित आन्दोलनमा उत्रिएका अध्यक्ष यादवले विभिन्न समयमा भारत भ्रमण गर्ने गरेका छन् । उनको भारत भ्रमणको नेपालमा खुब जमेर चर्चा हुने गरेको छ । यसै क्रममा अध्यक्ष यादवको पछिल्लोपटक भएको बिहार भ्रमण भने अलि चर्चा र बिवादको विषय बनेको छ ।
बिहारका पूर्वमन्त्री डा.रघुवंशप्रसाद सिंहले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवलाई झुक्काएर निम्ता गरेर पृथकतावादी आन्दोलन चलाइरहेका डा.सीके राउतको कार्यकर्तालाई सम्बोधन गर्न लगाएको खुलासा भएको छ ।
मिडिया फर बोर्डर हार्मोनी तथा भारत–नेपाल मैत्री संघले आयोजना गरेको उक्त कार्यक्रममा डा. सीके राउतका कार्यकर्तालाई समेत नेपालबाट बोलाइएको थियो । मुजफ्फरपुरमा आइतबार भएको ‘मधेस आन्दोलनमा हाम्रो भूमिका’ विषयक कार्यक्रमलाई यादवका साथै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि सम्बोधन गरेका थिए ।
मुजफरपुर प्रेस क्लबमा भएको खुल्ला कार्यक्रममा मञ्चकै अगाडिपट्टि स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता अर्थात डा.सीके राउतका कार्यकर्ताहरुले ‘मै सीके हुँ’ लेखिएको टोपी लगाएर बसेका थिए ।
कार्यक्रममा डा.सीके राउतको कार्यकर्ताहरुको उपस्थिति देखेर उपेन्द्र यादव तर्सिएका थिए । कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै अध्यक्ष यादवले आयोजकलाई डा.सीके राउतको कार्यकर्ताहरुलाई कार्यक्रमबाट बाहिर लैजान आग्रह गरेका थिए । आयोजकले ‘यो खुल्ला कार्यक्रम हो’ भनेर अध्यक्ष यादवको कुरालाई टारेको स्रोतको दाबी छ ।
कार्यक्रम अगाडि बढ्दै गयो, अध्यक्ष यादवको टाउको दुखाई बढ्दै गयो । पुनः कार्यक्रम सञ्चालन भइरहँदा अध्यक्ष यादवले अगाडि पट्टि रहेका डा.सीके राउतका कार्यकर्ताहरुलाई पछाडि गएर बस्न आग्रह गर्दै आयोजकलाई गह्राए । तर पुनः आयोजकले मानेनन् ।
कार्यक्रममा सहभागी बीरगञ्जका पत्रकारहरुले भने- ‘डा.सीके राउतको कार्यकर्ताहरुलाई देखेर उपेन्द्र यादव पहिलेदेखि नै तर्सिएका थिए, झन् महेन्द्र यादव र रघुबंशप्रसाद सिंहले डा.सीके राउतको चर्चा गरेपछि अध्यक्ष यादव जी रातोनपिरो हुनुभयो ।’
कार्यक्रममा मधेसी मोर्चाका घटक तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मधेश पहिलेदेखि नै अलग देश रहेको र अहिले नेपालमा मिसिएको बताए । त्यसपछि डा.सीके राउतका कार्यकर्ताहरुले ताली बजाउन सुरु गरेको बताइएको छ ।
झन् कार्यक्रमका प्रमुख अतिथि डा.रघुबंश प्रसाद सिंहले मधेस अलग देश तत्काल माग्ने अवस्था नआएको र केही दिन प्रतिक्षा गर्न भनेपछि डा सीके राउतका कार्यकर्ताहरु हौसिएका थिए ।
यसअघि पनि सीमा क्षेत्रमा बिहारका पूर्व मन्त्री डा.रघुबंश प्रसाद सिंहको नेतृत्वमा भइरहेका कार्यक्रमहरुमा डा.सीके राउतका कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहँदै आएको छ । तराईमा आन्दोलन छेडिरहे पनि आफू नेपालबाट अलग हुनुपर्ने पक्षमा नरहेको उपेन्द्र यादवले बताउँदै आएका छन् ।















प्रतिक्रिया