काठमाडौं, १९ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले झण्डै आधा वर्ष पार गर्दैछ । अहिले आन्दोलनले पाँच महिना पार गर्ने अवस्थामा छ । अबको केही दिनपछि मधेसी मोर्चाको आन्दोलनले आधा वर्ष पार गर्नेछ ।
आधा वर्ष पुग्नै लाग्दा पनि मधेसी मोर्चाका माग पूरा गर्नेतर्फ सरकारले कुनै चासो देखाएको छैन । सरकारले मधेसी मोर्चाको आन्दोलनलाई भारतले साथ दिएको भन्ने आक्षेप लगाएको छ । सर्वसाधारणले पनि भारतले नै मधेसी मोर्चाको आन्दोलन उचालेको आरोप लगाइरहेका छन् ।
भारतीय नेता र भारतीय राजदूतावासमा जाने, नयाँदिल्लीमा गएर भेट्ने कार्यले पनि मधेसी मोर्चाको आन्दोलनमा कसको साथ र समर्थन छ भन्ने स्पष्ट देखाएको आरोप पनि छ ।
यसै क्रममा नेपालमा भारतले नाकाबन्दी लगाएर अस्तव्यस्त बनाइ रहेका बेला मधेसी मोर्चाका तीन शीर्ष नेता बिहारमा पुगेर आफूहरुको आन्दोलनमा समर्थन जुटाउने प्रयास गरेका छन् । ती नेताहरुमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव रहेका छन् ।
उनीहरुले आफ्नो आन्दोलनमा सहयोग गर्न आग्रह गर्दै बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भेट गरेका छन् । उनीहरुको मनसाय के थियो त्यो तीन शीर्ष नेताहरुले भन्ने छन् ।
तर लालुप्रसाद यादवसँग जुन अवस्थामा मधेसी मोर्चाका शीर्ष नेताहरु बसेका छन् त्यो कुनै नेपालीका लागि शोभनीय छैन । लालु बेतबाँसको कुर्सीमा भुँडी उत्तानो पारेर बसेका छन् । तर नजिकैको पलाष्टिकको कुर्सीमा मधेसी मोर्चाका तीन शीर्ष नेता बसेका छन् ।
यो तस्बीर सामाजिक सञ्जालहरुमा सोमबारदेखि खुब चार्चाको विषय बनेको छ । यो तस्बिरलाई लिएर विभिन्न आलोचनात्मक टिप्पणी भएका छन् । यो तस्बिर सामाजिक सञ्जालहरुमा भाइरल बनेपछि मधेसी मोर्चाका नेताहरुलाई त्यसको जवाफ दिन हम्मेहम्मे परेको छ ।












प्रतिक्रिया