
काठमाडौँ, १८ माघ । मुलुकमा नयाँ संविधान जारी भइसकेपछि सङ्घीय प्रदेशलगायतका विषय असहमति जनाउँदै सुरू भएको मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मी, आन्दोलनकारी र सर्वसाधारण गरी हालसम्म ५८ जनाको मृत्यु भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको प्रवक्ता–पत्रकार भेटघाटका क्रममा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता यादवप्रसाद कोइरालाले आन्दोलनका क्रममा सुरक्षाकर्मी ११, आन्दोलनकारी र सर्वसाधारण ४७ गरी ५८ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
कैलाली जिल्लाको टीकापुरमा हात हतियारसहितका प्रदर्शनकारीबाट सुरक्षाकर्मीको निर्मम हत्या गर्ने गरी भएको हिंसात्मक घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले आफ्नो कार्य सम्पन्न गरिसकेको समेत प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार आपूर्ति व्यवस्थामा भएको अवरोध हटाई त्यसलाई सहज तुल्याउन मुख्यमुख्य राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सहायक मार्गमा निर्वाधरूपले सञ्चालन हुने व्यवस्थापनका लागि सुरक्षा निकायबाट स्कटिङलगायतको आवश्यक सुरक्षा व्यवस्था गरिएको छ ।
त्यसैगरी मन्त्रालयले हालको सङ्क्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुको कालोबजारी नियन्त्रण तथा सीमा क्षेत्रबाट हुनसक्ने नियन्त्रणको लागि सम्बद्ध निकायसँगको समन्वयमा आवश्यक कार्य भइरहेको छ ।
सुरक्षित समाजको अवधारणाअनुसार सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि–२०७२ र युएभी उडान (मानवविहीन हवाइजहाज अथवा ड्रोन) कार्यविधि, २०७२ स्वीकृति गरी कार्यान्वयनमा ल्याइएको प्रवक्ता कोइरालाले बताउनुभयो । रासस












प्रतिक्रिया