
काठमाडौं, १८ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, आन्दोलनको समीक्षा र नाकाको धर्नाका विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालय बैठक बस्दैछ ।
सिंहदरबारमा आज बस्ने बैठकमा भावी आन्दोलनको कार्यक्रम र नयाँ रणनीतिका विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
‘आन्दोलनको समीक्षा र भावी योजना तयार गर्न हाम्रो सचिवालयको बैठक बस्न लागेको हो’, उहाँले भन्नुभयो, ‘पर्सीसम्म शीर्ष नेताहरूको बैठक बसेर कडा आन्दोलन सार्वजनिक गर्ने तयारीमा छौँ ।’
मधेसी मोर्चाले आन्दोलन तत्काल फिर्ता नलिने जनाउँदै आएको छ । आन्दोलन मत्थर भएको जान्दाजान्दै पनि मधेसी मोर्चाले यसलाई झन् कडा बनाउने दाबी गर्दै आएको छ ।
यसअघि तराई मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित कार्यालयमा बस्दै आएको सचिवालय बैठक सिंहदरबारभित्र बस्न लागेको हो ।
यसैबीच, मधेसी मोर्चाले तराई मधेसका २० जिल्लाहरूमा आज अन्तरक्रिया पनि गर्न लागेको छ । मधेसका स्थानीय वुद्धिजीवी, पेशाकर्मी, मजदुरसँग अन्तरक्रिया गर्न लागेको महासचिव सुमनले बताउनुभयो ।












प्रतिक्रिया