
काठमाडौं, १६ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आयरल्याण्डविरुद्ध शानदार जित हात पारेको छ ।
शनिबार बंगलादेशको फल्तुल्लाहस्थित खान साहेब ओसमान अलि रङ्गशालामा नेपालले आफ्नो दोस्रो खेलमा आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो ।
खेलमा टस जितेर व्याटिङमा उत्रिएको आयरल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
जवाफी व्याटिङ गरेको नेपालले २५.३ ओभर खेलेर दुई विकेटको क्षतिमा १३२ रनको लक्ष्य भेट्टायो ।
खाता नखोलेरै पहिलो विकेटका रुपमा सन्दिप सुनारलाई गुमाएको नेपालका लागि नटआउट उपकप्तान योगेन्द्र कार्कीले सर्वाधिक ६१ रन बनाए । सुनिल धमलाले २८ रन बनाए । आरिफ शेख ३१ रनमा नटआउट रहे ।
यसअघि आयरल्याण्डका लागि जे टेक्टरले सर्बाधिक २७ रन बनाएका थिए । नेपालका सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । यू-१९ विश्वकपमा नेपालका लागि ह्याट्रिक लिने लामिछाने पहिलो नेपाली बलर बने । यस्तै, सुनिल धमला, सुशील कँडेल र प्रदिपसिंह ऐरीले एक-एक विकेट लिए ।
आजको जितसँगै नेपालको दोस्रो चरणमा प्रवेश गर्ने बाटो बोलियो बनेको छ । यसअघि बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो । अब नेपालले सोमबार छिमेकी भारतको सामना गर्नेछ ।















प्रतिक्रिया