
नेपालगन्ज, १५ माघ । फत्तेपुर गाविसस्थित श्री जन सिद्धेश्वर बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर कक्षा सञ्चालनका लागि ‘राप्ती बघौडा सोनारी धार्मिक महोत्सव’ शुक्रबारबाट सुरु भएको छ ।
महोत्सवको एक कार्यक्रमका बिच खानेपानी तथा सरसफाई राज्य मन्त्री दिनेशचन्द्र यादवले उद्घाटन गरेका हुन् ।
महोत्सव उद्घाटन गर्दै उनले फत्तेपुर गाविसस्थित जन सिद्धेश्वर बहुमुखी क्याम्पस भवन निर्माणका लागि रकम अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
फत्तेपुरबासीले भोग्दै आएको समस्या आफूलेपनि भोग्दै आएको बताउँदै उनले क्याम्पस सञ्चालनका लागि रकम अभाव भए आफूलाई गुहार्न आग्रह गरे ।
उनले रकम संकलनमा आफ्नो प्रत्यक्ष, अप्रत्यक्ष सहभागिता रहने स्पष्ट पारे । ‘क्याम्पस सञ्चालनका लागि रकमको ब्यवस्था गर्न काठमडौँ आउनुुस् म चाहिने जति रकम जुटाउन तपाईहरुलाई साथ दिने छु,’ उनले भने । पुन्य प्राप्तिका लागि धार्मिक गरिएकोमा प्रशंसा गर्दै उनले शिक्षाको ज्योति फैलाउने अभियान नै सवैभन्दा ठूलो धर्म भएको बताए ।
कार्यक्रममा सांसद अञ्जना चौधरीले पछाडी परेको बघौडा क्षेत्रको विकासका लागि आफ्नो सहयोग र सहकार्य सदैव रहेने प्रतिवद्धता जनाइन् । उनले फत्तेपुर क्षेत्रलाई विकासको मुलधारमा ल्याउन हरसम्भवको प्रयास गर्ने बताइन् ।
एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले धार्मिक महोत्सव सञ्चालन गरेर फत्तेपुरबासीले अशिक्षाको कालो बादल हटाउने अभियान थालेकोमा सह्राना गरे । उनले भने, ‘जो ब्यक्ति शिक्षाका लागि बाटो देखाउँछ उक्त ब्यक्ति गुनी र धर्मात्मी हुन्छ ।’
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले धार्मिक महोत्सवका माध्यमबाट समाजमा शान्ति र शिक्षाको पहल गर्ने अभियानले फत्तेपुरबासीको शिक्षा प्रतिको लगाव छ भन्ने देखिएको बताए ।
महोत्सव मुल समारोह समितिका अध्यक्ष लाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव लोकमणी बटालाले स्वागत गरेको थिए भने कार्यक्रम सञ्चालन बरिष्ठ उपाध्यक्ष नवराज खरेलले गरेका थिए । महोत्सवमा गोविन्द शरण महाराज र मिरा दिदीले कथा बाचन गरिरहेका छन् । आज शनिबार विहान १० बजेदेखि कथा वाचन सुरु हुने आयोजक समितिका बरिष्ठ उपाध्यक्ष ताराप्रसाद कसेराले जानकारी दिए ।
पहिलो दिन करिव २ लाख दान
फत्तेपुर गाविसस्थित श्री जन सिद्धेश्वर बहुमुखी क्याम्पसमा शुक्रबारदेखि सुरु भएको धार्मिक महोत्सवको पहिलो दिन दानवीरले दान दिन थालेका छन् । महोत्सव उद्घाटन कार्यक्रममै २ जनाले तुला दान गरेका छन् ।
तुला दान गर्नेमा फत्तेपुर गाविस–८, की गंगादेवी घर्ती र सोही ठाउँकी ८० बर्षीया सुन्तली घर्ती हुन् । उनीहरु दुवै जनाले ११÷११ हजार तुला दान गरेको आयोजक मुल समारोह समितिका कोषाध्यक्ष आस्माली पुनले जानकारी दिइन् ।
त्यसैगरी, शुक्रबार फत्तेपुर हव्रहवाकी चन्द्रकला खरेलले आकाश दिप प्रज्ज्वलन गरेकी छन् । उनले २५ हजार १ सय १ रुपैयाँ दान गरेकी छन् ।
महोत्सवको पहिलो दिन फत्तेपुर–८ का तिलकराम शर्माले २१ हजार ५ सय ५१ रुपैयाँ दान गरेका छन् । भने, फत्तेपुर गाविस–७ का टंक बहादुर आलेले २१ हजार ५ सय रुपैयाँ दान गरेका छन् ।
फत्तेपुर–८ की उमादेवी आलेले ११ हजार १ सय ११ रुपैयाँ र फत्तेपुर गाविसका विजुली प्रसाद मौर्यले ११ हजार महोत्सवमा दान गरेको आयोजक समितिले जनाएको छ । त्यसैगरी फत्तेपुरका दिल बहादुर दहित, आइते पुन लगायतले पनि दान गरेका छन् ।
महोत्सव उद्घाटनपछि खानेपानी तथा सरसफाई राज्य मन्त्री दिनेशचन्द्र यादवले कलश पूजा, अन्नदान लगायतका पूजामा सरिक भएका थिए । उनले रकम घोषणा नगरेपनि उचित दान गर्ने प्रतिवद्धता जनाएका थिए ।
महोत्सव सुरु हुनुभन्दा पहिले श्री जन सिद्धेश्वर क्याम्पसबाट कलश यात्रा भएको थियो । उक्त कलश यात्रा मुक्त कमैयाँ डाँडा, पनेरिया, सिधनवा, जोरैया हुँदै पुनः क्याम्पस प्राङ्गनमा पुगेर समापन भएको थियो ।
कलश यात्रामा ३ हजार २ सय कलश, स्थानीय भेषभुषा तथा संस्कृति झल्किने झाँकी, पाँच कन्या, शिवपार्वति, गणेश लगायतलाई सहभागी गराइएको थियो । महोत्सवमा पूजा कर्मा भक्तिराम पाण्डेले र गणेशको भूमिका गोविन्द प्रसाद घिमिरेले गरिरहेका छन् । कलश यात्रापछि दिउँसो १२ बजे धार्मिक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका महासचिव लोकमणी बटालाले बताए । उनले महोत्सवको सम्पूर्ण तयारी सँगै गोविन्द शरण महाराज लगायत अन्य गुरुहरु महोत्सव स्थलमा आइसकेको जानकारी दिए ।
महोत्सवमा आउने पाहुनाको स्वागतको लागि आयोजक समिति र फत्तेपुरका सामुदायिक बन, क्लव र संघसंस्थाले स्वागत द्वार निर्माण गरेका छन् । फत्तेपुरमा १४ र नेपालगन्ज तथा कम्दीमा एक÷एक वटा स्वागत द्वार निर्माण भएको बरिष्ठ उपाध्यक्ष ताराप्रसाद कसेराले जानकारी दिए । उनले महोत्सव सफल बनाउन स्थानीयले दिल खोलेर सहयोग गरेको बताए ।
महोत्सवमा २ सय ५० जना स्वयम् सेवक परिचालन गरिने भएको छ । जन सिद्धेश्वर बहुमुखी क्याम्पसका शिक्षक ओम प्रकाश चन्दको नेतृत्वमा ४ जना शिक्षिका र ३ जना शिक्षक स्वयम् सेवक परिचालनमा खटिने महोत्सव मुल समारोह समितिका सदस्य विष्णु बहादुर अधिकारीले बताए ।
आफ्नो गाविसमा स्नातक र स्नातकोत्तर कक्षा सञ्चालनका लागि महोत्सव हुने भएपछि स्थानीय दिनरात नभनी काममा खटिएका छन् । निरन्तर दुई महिनादेखि काममा खटिएको स्थानीय भक्तिराम पाण्डेले बताए । ‘यातायात, खाना, खाजा आफै ब्यहोरेर महोत्सवको काममा खटिएका छौँ,’ उनले भने, महोत्सवलाई फत्तेपुरको गौरवको रुपमा लिएका छौँ ।’
महोत्सव हुने अघिल्लो दिन नै फत्तेपुरका गल्ली, सडक र चोक बरालकुराल गरी सफासुग्घर पारिएको छ । भने, फत्तेपुरका सडक स्वागत द्वार, तुल र ब्यानरले झकिझकाउ पारिएका छन् ।
‘शिक्षाका लागि दान गरौँ, पुण्य कमाऔँ’ नाराका साथ एक हप्तासम्म चल्ने धार्मिक महोत्सवमामा दान गर्न २ हजार दानवीरलाई आग्रहसहितको पत्र पठाइएको समितिका अध्यक्ष थापाले बताए । ‘ठूला ठूला उद्योगी, ब्यापारी, राजनीतिक दलका नेता, सांसद, मन्त्री, पूर्व मन्त्री, कार्यालय प्रमुख, समाजसेवी लगायतलाई दान गर्न आग्रहसहित २ हजारजनालाई पत्र पठाएका छौँ,’ अध्यक्ष थापाले भने ।












प्रतिक्रिया