
भीमदत्तनगर, १५ माघ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आन्दोलनरत् मधेसी मोर्चाको आन्दोलनले मधेसी समुदायकै नागरिकलाई सास्ती भइरहेको प्रति चिन्ता व्यक्त गर्दै दशगजाको आन्दोलन रोक्न आग्रह गर्नुभएको छ ।
एमालेको शुक्रबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा सुरु भएको तीनदिने महाकाली अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता नेपालले संविधान संशोधनमार्फत मधेसी मोर्चाका माग पूरा भइसकेको बताउनुभयो ।
प्रदेश सीमाङ्कनका विषयमा जनतालाई भड्काउने काम भइरहेको भन्दै उहाँले वैज्ञानिक आधारमा प्रदेश सीमाङ्कन हुनुपर्नेमा समेत जोड दिनुभयो । मधेस आन्दोलनले पहाडी र मधेसी समुदायबीच दूरी बढाउन खोजिएको आरोप उहाँले लगाउनुभयो ।
‘बाबुरामजीको नयाँ शक्तिमा केही पनि नयाँ छैन ।’ उहाँले भन्नुभयो– ‘गन्ध आएको रक्सी नयाँ बोतलमा हाल्दैमा केही हुदैन ।’
संविधानमा विभेद छ भने देखाउनुसः उपप्रधान मन्त्री रावल
एमालेको महाकाली अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा पार्टीका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधानमा भएको विभेद देखाउन आन्दोलनरत् मधेसी मोर्चालाई आग्रह गर्नुभयो ।
‘संविधानको कुन धारा, कहाँ निर विभेद छ, देखाउनुस् ।’ उपाध्यक्ष रावलले भन्नुभयो, ‘हामीले संविधान संशोधनमार्फत मोर्चाका माग पूरा गरिसकेका छौं ।’
सरकार जुनसुकै तहमा पनि वार्ता गर्न तयार रहेको बताउँदै उहाँले संविधान कार्यान्वयनमा राजनीतिक दलहरु लाग्नुपर्नेमा समेत जोड दिनुभयो । आन्दोलन फिर्ता लिएर सहजता ल्याउन मोर्चासँग उहाँले आग्रह गर्नुभयो ।
विधिभन्दा बाहिर जाने छुट छैन ः महासचिव पोखरेल
सोही कार्यक्रममा एमालेका महासचिब ईश्वर पोखरेलले विधिभन्दा बाहिर गएर मधेसी मोर्चा आन्दोलित भएकाप्रति असहमति जनाउनुभयो ।
‘अहिंसा मच्चाएर संविधान मान्दैनौँ भन्ने छुट कसैलाई छैन ।’ महासचिव पोखरेलले भन्नुभयो, ‘विधिभन्दा बाहिर गएर माग राख्न मिल्दैन ।’
अन्तरवस्तु, विधि र प्रक्रियाबाट संविधान जारी भएको बताउँदै उहाँले संविधान गतिशील दस्तावेज भएको बताउनुभयो ।
छिमेकी मुलुकहरुको अनुचित कुरा स्वीकार्य नहुने बताउँदै उहाँले आत्मनिर्भरताको बाटोमा हिँड्नुपर्नेमा समेत जोड दिनुभयो ।
एमाले महाकाली अञ्चल कमिटीका इन्चार्ज रामकुमार ज्ञवालीको अध्यक्षतामा भएको भेला आइतबारसम्म सञ्चालन हुने एमाले कञ्चनपुरले जनाएको छ । भेलामा एमालेका अञ्चलभरका अगुवा कार्यकर्ताको सहभागिता छ । रासस












प्रतिक्रिया